नेभिगेशन
खेलकुद

‘ग्रीन रन महिला रि–रन’मा न्यौपाने विजयी

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता भएकी छन् । 
    प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पाँच किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएकी हुन् । त्यस्तै निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय तथा निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा पूरा गर्दै तृतीय स्थान हासिल गरेकी छन् ।

    त्यसैगरी सुनसरी रोकाया चौथो, सृजना पाण्डे पाँचौं र आशा रावत छैटौं भए । विजेताहरूलाई नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नगद पुरस्कारको चेक हस्तान्तरण गरिन् । सहमहामन्त्रीद्वय डा डिला संग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी तथा पदक प्रदान गरे ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार, तृतीयलाई रु २० हजार, चौथोलाई रु १२ हजार, पाँचौंलाई रु १० हजार र छैटौंलाई रु आठ हजार पुरस्कार प्रदान गरिएको थियो । पाटन दरबार स्क्वायर, मंगलबजारबाट सुरु भएको दौड पुल्चोक–झम्सिखेल–भनिमण्डल–एकान्तकुना–जावलाखेल–पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । नेपाल महिला संघको सहभागितामा आयोजित प्रतियोगिता सुरु हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा तथा लाखे नृत्य प्रस्तुत गरिएको थियो ।

    दौडमा सहभागी महिलाहरूले यसै साता बाराको जीतपुरसिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाप्रति न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद