नेभिगेशन
खेलकुद

भरतले काठमाडौंबाट एनपीएल खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर÷ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ । काठमाडौंले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो । 

भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि सातवटा टेष्ट खेलेका छन् । उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेँगलुरुबाट इण्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । उनले प्रथम श्रेणी क्रिकेटमा छ हजारभन्दा बढी रन बनाएका छन् । 

भरतले यही वर्षको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौं गोर्खाजले जनाएको छ । ‘भारतका अन्तर्राष्ट्रिय खेलाडी केएस भरतले आफ्नो देशका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् । विकेट पछाडि धैर्य र संयमका लागि परिचित भरतले टोलीमा अनुभव, विश्वासनीयता र सुरक्षित विकेट किपिङ ल्याउने छन्,’ काठमाडौं गोर्खाजले उनलाई सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेको छ । 

एनपीएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद