नेभिगेशन
खेलकुद

पदकमा गल्ती देखिएपछि...

सिड्नी म्याराथनको ४२.२ किलोमिटर दौड पूरा गर्ने धावकले पाउने पदकमा सिड्नीका चर्चित स्थल देखिनुपर्ने थियो । तर आयोजकको एउटा ‘सानो’ गल्तीले पदकमा सिड्नीको सट्टा जर्मनीको म्युनिख पुगेको छ ।
आगामी अगस्ट ३० मा हुने सिड्नी म्याराथनका करिब ४० हजार धावकले पाउने पदकमा सिड्नीस्थित एलियान्ज स्टेडियमको चित्र राखिनुपर्ने थियो । तर गल्तीवश जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनाको चित्र कुँदियो । पदक सार्वजनिक भएपछि यो गल्ती सामाजिक सञ्जालमा भाइरल बन्यो ।
आयोजकले भने गल्ती लुकाउने वा त्यसबाट ‘भाग्ने’ प्रयास गरेनन् । सामाजिक सञ्जालमा उनीहरूले लेखे, ‘पदकको पछाडिपट्टि अलि बढी अन्तर्राष्ट्रिय स्वाद पुगेको हुन सक्छ । यो दुर्भाग्यपूर्ण गल्ती थियो, तर यसले सबैलाई हाँस्ने र कुरा गर्ने एउटा विषय भने दिएको छ ।’
अझ रोचक कुरा, अब गल्ती सच्याउने समय पनि छैन । म्याराथन सुरु हुन एक साता मात्र बाँकी रहेकाले यही पदक धावकहरूलाई प्रदान गरिने आयोजकले स्पष्ट पारेका छन् । आयोजकका अनुसार, ‘यो सुन्दर पदक हो र अब अलि बढी अद्वितीय पनि ।’
सिड्नी म्याराथनको मार्ग पनि विशेष छ । सिड्नी सन् २००० को ओलम्पिक म्याराथनको विरासत सम्झाउँदै सुरु हुने दौड सिड्नी हार्बर ब्रिज, सेन्टेनियल पार्क र रोयल बोटानिक गार्डेन हुँदै अन्ततः विश्वप्रसिद्ध सिड्नी ओपेरा हाउसमा पुगेर टुंगिन्छ ।
पदक डिजाइन गर्ने फस्र्ट नेसन्स कलाकार एम्ब्रोस किलियनले भने आफूले गल्ती भएको पदकको पछाडिको भाग डिजाइन नगरेको स्पष्ट पारेका छन् । उनले पदकको अगाडिको भाग र ल्यानयार्डका लागि मात्र कलाकृति तयार गरेका थिए ।
आयोजकले गल्ती स्वीकार्दै धावकहरूलाई सम्झाएका छन्– पदकमा एउटा गलत चित्र भए पनि फिनिस लाइन पार गरेर हासिल गरेको उपलब्धिको मूल्य घट्दैन ।
‘तपाईंहरूले देख्नुभयो । हामीले पनि देख्यौं । हामी मानव हौं । सिड्नीमा भेटौंला,’ आयोजकले लेखेका छन् ।
यस वर्षको विश्वका प्रमुख म्याराथनमध्ये सिड्नी पाँचौं चरणमा परेको छ । टोकियो, बोस्टन र लन्डनपछि बर्लिन, शिकागो र न्यूयोर्कका म्याराथन पनि हुँदैछन् ।
गत वर्ष नेदरल्यान्ड्सकी सिफान हसन र इथियोपियाका हाइलमेरियम किरोसले क्रमशः २ घण्टा १८ मिनेट २२ सेकेन्ड र २ घण्टा ६ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै पुरुष र महिला विधामा कीर्तिमानसहित उपाधि जितेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद