नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको बैठक आज, बाढी विपद्बारे विशेष प्रस्ताव

काठमाडौं । विनाशकारी बाढीको घटना लगत्तै अवरुद्ध प्रतिनिधिसभाको बैठकले बुधबारदेखि नियमितता पाउने भएको छ । भोटेकोशी नदिमा बाढी आएपछि गत बुधबार प्रतिनिधिसभा बैठक स्थगन गरिएको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेसको मागपछि  सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन् । सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुंगो लगाउने बताएका थिए । सोही अनुसार सभामुख अर्यालले बुधबारका लागि बैठक बोलाएका हुन् । 
सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए पनि तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताएका थिए । आङ्देम्बेले विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद् बैठक बस्नुपर्ने बताएका छन् । 
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सभामुखले भोटेकोशी बाढीसम्बन्धि विशेष प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सँख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै, उक्त घटनाबाट घरबार विहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ,’ प्रतिनिधिसभाका महासचिव पद्म प्रसाद पाण्डेयले सम्भावित कार्यसूचीबारे भने । 
भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले प्रश्नोत्तर कार्यक्रममा सहभागि हुने कार्यसूची थियो । तर, सोही दिन विहान बाढीले ठुलो धनजनको क्षती गरेपछि प्रधानमन्त्री अनुपीसथत भएका थिए । सरकारका तर्फबाट बाढीका बारेमा परराष्ट्रमन्त्री शिशिर खनालले सदनलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्