नेभिगेशन
खेलकुद

ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा

साविक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । उपाधिनजिक पुगेको सिराहा साविक विजेता टोली हो ।
फाइनल प्रवेशका लागि दोस्रो हाफमा निशकुमार श्रेष्ठ र फागुराम थारूले गोल गरेका थिए । सलहेशले सातदोबाटो एफसीलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यता जर्जियन युनाइटेडले ताप्लेजुङ–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलको अन्तिम खेल बुधबार फिदिम स्पोर्टिङ क्लब र झापा–११ बीच दिउँसो २ बजेपछि हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको छ ।
आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ र उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद