नेभिगेशन
खेलकुद

पिकलबल टोली भियतनामतर्फ

पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहिबार भियतनाम प्रस्थान गरेको छ । टोलीले विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पिकलबल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।

नेपाली टोलीलाई पिकलबल एसोसियसन नेपालका उपाध्यक्ष टीका भण्डारीलगायत पदाधिकारी तथा शुभेच्छुकहरूले विदाइ गरेका थिए । विदाइका क्रममा टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम र झण्डा उचो राख्न खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो ।

भियतनाममा आयोजना हुने यस प्रतियोगिता पिकलबल विश्वकपको तेस्रो संस्करण हो । विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडी तथा टोलीहरूको सहभागिता रहने प्रतियोगितामा नेपालले पनि आफ्नो बलियो उपस्थिति जनाउने तयारी गरेको छ । विश्वकपका लागि भियतनाम प्रस्थान गर्ने नेपाली टोलीमा सौरभ भण्डारी, ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा.दिक्षा राणा, सञ्जील कन्साकार, किरण खनाल, हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान लगायत १८ सदस्य रहेका छन् ।

पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले देश नै शोकमा रहेको कठिन परिस्थितिका बीच नेपाली टोली भियतनामतर्फ प्रस्थान गरेको बताए । भोटेकोसीमा आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेको र उद्धार तथा राहतमा खटिनुपर्ने अवस्थामा टोलीले मन भारी बनाएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यात्रा सुरु गर्नुपरेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद