काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ मा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीमा परी पाँच जना सम्पर्कविहीन भएका छन् भने ४५ घर पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको छ । बाढीबाट प्रभावित क्षेत्रबाट नौजना विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आइतबार बिहान चुमनुब्री–६ चुम्चेतस्थित उर्लिङ खोलाबाट गेग्रानसहितको बाढी आएर स्यारखोला थुनिएको र केही समयपछि थुनिएको पानी फुटेर बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको प्रारम्भिक विश्लेषण छ । घटनाबारे थप अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।
बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन् । बाढीले दुईवटा पक्की पुल, दुईवटा झोलुंगे पुल र चारवटा जलविद्युत् आयोजनामा क्षति पु¥याएको प्रारम्भिक विवरण छ । सञ्चारमाध्यमहरूमा आएका भिडियोमा जगत र सिर्दिवासका बासिन्दा हतार–हतार गाउँघर छाडेर तटीय क्षेत्रबाट सुरक्षित स्थानतर्फ गइरहेको देखिएका छन् ।
बाढीका कारण नदी तटीय क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनका क्रममा रहेका चार वटा जलविद्युत् आयोजनाका भौतिक पूर्वाधार, पहुँच मार्ग, पुल तथा निर्माण उपकरणहरू बगाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार टाइम्स इनर्जी प्रालि प्रवर्धक रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, दोभानखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित २४.५ मेगावाट क्षमताको दोभानखोला जलविद्युत् आयोजना , ३०.५९ मेगावाट क्षमताको यारुखोला जलविद्युत् आयोजनामा पनि असर पु¥याएको छ ।
त्यस्तै, वाटर इनर्जी डेभलपमेन्ट प्रालि प्रवर्धक रहेको १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनामा बाढीले क्षति गरेको छ । आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।
त्यस्तै, ३४ वटा गोठ र बंगुरका खोर तथा गोदाम गरी १२ संरचनामा क्षति पुगेको छ । तीनवटा सवारीसाधनमा समेत क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरी उद्धार गरिएको थियो । उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७ सय ३ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।
प्राधिकरणले घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको टोली परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने, क्षतिको विवरण संकलन गर्ने र उद्धार कार्यलाई प्रभावकारी बनाउने काम भइरहेको जनाइएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेर घटनाको निरन्तर अनुगमन, अवस्था विश्लेषण तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको छ । गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ ।
बाढीको पूर्वसूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनलगायत तटीय क्षेत्र प्रभावित हुन सक्ने क्षेत्रका सर्वसाधारणलाई एसएमएसमार्फत सूचना पठाइएको प्राधिकरणले जनाएको छ । उद्धार तथा प्रतिकार्यमा खटिन विभिन्न जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई समेत परिचालनका लागि सूचना सम्प्रेषण गरिएको थियो ।
प्रभावित क्षेत्रमा टेन्ट, त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, सोलार लाइट, किचेन सेट, जेनेरेटर, ज्याकेट तथा खाद्य र सरसफाइ सामग्री पठाइएको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा राहत र उद्धारका काम जारी रहेको प्राधिकरणले जनाएको छ ।
राहत र उद्धारमा सरकार सक्रिय
गृहमन्त्री सुधन गुरुङले बाढीमा परेकाहरूलाई उद्धार र राहतका लागि सरकारले तीव्रता दिएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि सञ्चारकर्मीसँग उनले राहत सामाग्रीसहित उद्धारको कामहरू भइरहेको बताए । गुरुङ गोरखाकै हुन् ।
उनले बाढीका कारण जलविद्युतहरूमा क्षति पुगेका कारण हाल सोलारमार्फत बत्ती जडान गर्ने र टेलिफोन लगायत जडान गर्ने काम भइरहेको जानकारी दिए ।
हालसम्म प्राप्त क्षतिको विवरण यस्तो छः
पक्की पुलः २ वटा
झोलुंगे पुलः २ वटा
जलविद्युत् आयोजनाः ३ वटा
हवनकुण्डः ४ वटा
घर पूर्ण क्षतिः ४५ वटा
घर आंशिक क्षतिः २७ वटा
गोठ क्षतिः ३४ वटा
बंगुरको खोर÷गोदाम क्षतिः १२ वटा
सवारीसाधन क्षतिः ३ वटा
कारक वर्षा नभई पहिरो
उत्तरी गोरखामा बूढीगण्डकीका सहायक खोलानालामा भेल उर्लिने गरी वर्षा भएको थिएन । बूढीगण्डकीमा आएको आकस्मिक बाढीको कारणबारे जल तथा मौसम विज्ञान विभाग र जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको प्रारम्भिक विश्लेषणमा माथिल्लो तटीय क्षेत्रमा गएको पहिरो कारण हुन सक्ने सभवना उच्च देखिएको छ ।
विभागको बाढी पूर्वानुमान शाखाका जलविज्ञ विनोद पराजुलीले चुमनुब्रीको चुम्चेतनजिक ठूलो पहिरो गएको भूउपग्रह तस्बिरमा देखिएको बताएका छन् । शनिबार गएको अनुमान गरिएको उक्त पहिरोले बूढीगण्डकीको सहायक नदी थुनेपछि पानी एक्कासि तल बगेको हुन सक्ने उनको भनाइ छ । पहिरोले अनगेलिङ खोलाको बहाव रोकेको हुन सक्ने अधिकारीहरूको आशंका छ । यद्यपि, घटनाको वास्तविक कारण पुष्टि भइसकेको छैन ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले बाढीको स्रोत क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट वर्षा मात्रै भएको बताएका छन् । बाढी ल्याउने गरी ठूलो वर्षा नभएकाले माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनेको र अवरोध फुटेपछि पानी एक्कासि बगेको हुन सक्ने प्रारम्भिक विश्लेषण छ ।
स्थानीय बासिन्दाले श्रींगी हिमाल क्षेत्रमा हिमपहिरो गएको हुन सक्ने बताएका छन् । तर यसको पुष्टि हुन बाँकी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले पनि हिमपहिरो वा पहिरोले नदी थुनेर अवरोध फुट्दा बाढी आएको हुन सक्ने दुई सम्भावना औंल्याएका छन् । घटनास्थलको निरीक्षण र थप अध्ययनपछि मात्रै वास्तविक कारण यकिन हुने अधिकारीहरूको भनाइ छ ।