नेभिगेशन
प्रदेश

रेशम मार्गको विरासत धानेको च्यांग्रा व्यापार

मुस्ताङ । हिमालपारिको पुरानो व्यापारिक बाटोमा कुनै बेला नुन, ऊन र अन्नका भारी बोकेर हिँड्ने व्यापारीका पाइला अहिले दसैंका च्यांग्रासँगै सम्झनामा फर्किन्छन् । तिब्बती पठार र नेपाली पहाडलाई जोड्ने कालीगण्डकी करिडोरको व्यापारिक विरासत बोकेको मुस्ताङमा पुस्तौंदेखि चल्दै आएको च्यांग्रा व्यापार आज पनि हिमाल र सहरबीचको सम्बन्ध जोड्ने माध्यम बनेको छ ।
चीनबाट मध्य एसिया हुँदै पश्चिम एसियासम्म फैलिएको प्राचीन रेशम मार्ग इसापूर्व दोस्रो शताब्दीतिर हान वंशका पालामा विस्तार भएको थियो । त्यसबाट रेशमसहित विभिन्न वस्तु, प्रविधि, धर्म र संस्कृतिको आदानप्रदान हुन्थ्यो । चीनको व्यापारिक सञ्जाल मध्य एसियाबाट पश्चिम एसियासम्म फैलिएको थियो । नेपाल हुँदै तिब्बत जोड्ने हिमाली मार्ग भने यस विशाल व्यापारिक सञ्जालभन्दा भौगोलिक रूपमा फरक भए पनि एसिया जोड्ने पुराना व्यापारिक सम्बन्धकै अर्को महŒवपूर्ण हिस्सा थियो । मुस्ताङ हुँदै भारत, तिब्बत र मध्य एसियासम्म जोडिने व्यापारिक मार्गले यस क्षेत्रलाई शताब्दीयौंसम्म व्यापार र सांस्कृतिक आदानप्रदानको केन्द्र बनाएको थियो ।
इतिहासकार तथा अनुसन्धानकर्ताका अध्ययनअनुसार कालीगण्डकी मार्गबाट तिब्बती नुन, ऊन र चिया दक्षिणतर्फ आउँथे भने नेपाली पहाड र दक्षिणी भूभागबाट अन्न, कपडा, मसला तथा अन्य सामग्री उत्तरतर्फ लगिन्थ्यो । विशेषगरी १५औंदेखि १७औं शताब्दीसम्म मुस्ताङको व्यापारिक महŒव उल्लेखनीय थियो । त्यसबेला वस्तु साटफेरसँगै धार्मिक यात्रा, बौद्ध संस्कृति र समुदायबीचको सम्बन्ध पनि यही मार्गबाट विस्तार भएको थियो । मुक्तिनाथ आउने तीर्थयात्रीसँगै मुस्ताङी च्यांग्राको मासुको स्वाद देशका अन्य भागमा फैलिएको व्यापारीहरू बताउँछन् ।

घरपझोङ गाउँपालिका–५ ठिनीका व्यापारी निरज थकाली पुरानो व्यापारिक विरासतलाई दसैंको च्यांग्रा बजारसँग जोड्छन् । ‘रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैंमा मुस्ताङी च्यांग्रा बेच्न बजार झर्ने चलनले पुरानो व्यापारिक परम्परा धानेको छ,’ उनले भने ।
उपल्लो मुस्ताङका किसानका लागि च्यांग्रापालन परम्परागत पेसा र आम्दानीको प्रमुख आधार हो । लोमान्थाङ–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष ७०० च्यांग्रा बिक्री गर्न बजार झरेका छन् । ‘पुर्खाले गर्दै आएको च्यांग्रा व्यापारको पेसालाई निरन्तरता दिएको छु,’ उनले भने, ‘किसानबाट  खरिद गर्ने र दसैंमा बजार झर्ने हाम्रो चलन हो ।’
नेपाल पशु चौपाया व्यापार सेवा संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठ पनि ६ दशकदेखि यस व्यवसायमा छन् । यस वर्ष काठमाडौं पठाउन उनले एक हजार च्यांग्रा सात दिन हिँडाएर म्याग्दीको रघुगंगा–२ बैसरीमा ल्याएका छन् । काठमाडौंका लागि तीन हजार च्यांग्रा लैजाने तयारी गरिएको उनले बताए । चीनसँगको कोरला नाका बन्द रहेकाले यस वर्ष बजारमा आउने च्यांग्रा स्वदेशकै हुन् ।
हाल बजारमा एउटा च्यांग्राको मूल्य ४० हजारदेखि ५० हजार रुपैयाँसम्म छ । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट ११ हजार ७०० च्यांग्रा र २ हजार २१५ भेडा गरी बिक्रीका लागि बाहिर पठाउन स्वास्थ्य परीक्षण गरिएको छ । कार्यालयले स्वस्थ पशुलाई मात्र निकासी अनुमति दिएको छ । गत वर्ष १८ हजार भेडाच्यांग्रा जिल्ला बाहिर बेच्न लगिएको थियो । मुस्ताङका चार गाउँपालिकामा करिब ५० हजार च्यांग्रा पालिएका छन् ।
तर परम्परागत व्यवसाय संकटमा छ । छोसेरमा २५ वटा च्यांग्राका गोठ रहेकामा अहिले घटेर पाँचवटा मात्र बाँकी रहेको गुरुङ बताउँछन् । हिउँचितुवाबाट पशु जोगाउनुपर्ने चुनौती, चरन र आहाराको अभाव, गोठाला नपाइनु तथा युवा वैदेशिक रोजगारीमा जानुले च्यांग्रापालन घट्दै गएको छ । त्यसमाथि यस वर्ष बाढीपहिरोले बेनी–जोमसोम सडकका विभिन्न खण्ड क्षतिग्रस्त हुँदा च्यांग्रा ओसार्न व्यापारीलाई कठिन भएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्