नेभिगेशन
प्रदेश

परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व

बिहानको शान्त वातावरणमा तानसेनका गल्ली, चोक र घरका ढोकामा सारङ्गीको मधुर धुनसँगै मालश्री गुञ्जियो । हातमा सारङ्गी र मनमा पुख्र्यौली संस्कृतिप्रतिको माया बोकेर तानसेन–६ का ७३ वर्षीय रामबहादुर गन्धर्व यस वर्ष पनि दसैंको नवरात्रमा मालश्री गाउन निस्किए ।
घटस्थापनादेखि नौ दिनसम्म उनी हरेक बिहान करिब ३ देखि ५ बजेसम्म तानसेनका गल्ली, चोक र घर–घरमा पुगेर सारंगी बजाउँदै मालश्री गाए । उमेरले सात दशक पार गरे पनि उनको मालश्रीप्रतिको मोह घटेको छैन । उनका लागि मालश्री गीत मात्र नभई पुर्खाले छाडेर गएको सांस्कृतिक सम्पदा हो । 
विगतमा गन्धर्व समुदायका धेरै व्यक्तिले दसैंको नवरात्र सुरु भएसँगै मालश्री गाउँदै गाउँबस्ती पुग्ने गर्थे । तर, नयाँ पुस्ताले चासो नदिनु र पुराना पुस्ताका कलाकारको निधन हुँदै जानुले यो परम्परा हराउँदै गएको छ ।
रामबहादुरका अनुसार अहिले पाल्पा जिल्लामै मालश्री गाउने आफू एक्लो व्यक्ति हुन् । उनलाई आफूपछि यो परम्परालाई निरन्तरता दिने व्यक्ति नहुनेमा ठूलो चिन्ता छ । ‘पुराना सबै सकिए, नयाँले सिक्नै खोज्दैनन् । अब मपछि मालश्री गाउने पाउनै मुस्किल छ,’ उनी भन्छन् ।
उमेर बढ्दै गए पनि मालश्री गाउने र सारंगी बजाउने रहर भने उस्तै रहेको उनी बताउँछन् तर बुढ्यौलीका कारण पहिलेझैं गाउँबस्ती पुगेर गीत गाउन सहज छैन ।
गन्धर्व समुदायको परम्परागत पेसा सारंगी बजाउने र गीत गाउने भए पनि पछिल्लो समय यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । अन्य पेसाबाट तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएकाले नयाँ पुस्ता वैकल्पिक रोजगारीतर्फ आकर्षित भएको समुदायका व्यक्तिहरू बताउँछन् ।
स्थानीय बाबुराम गन्धर्वका अनुसार आर्थिक अवसरको खोजीमा नयाँ पुस्ता अन्य पेसातर्फ लाग्दा पुर्खादेखि चल्दै आएको पेसाले निरन्तरता पाउन कठिन भएको छ । 
जीविकोपार्जनको चुनौतीले गर्दा संस्कृति जोगाउने चाहना हुँदाहुँदै पनि परम्परागत पेसालाई निरन्तरता दिन सहज नभएको उनको भनाइ छ । त्यस्तै, स्थानीय दिनेश गन्धर्व अहिलेको पुस्तामा मालश्री संरक्षणप्रति पर्याप्त चासो र महत्त्व देखिन नसकेको बताउँछन् । राज्यले संस्कृति संरक्षणमा चासो दिएर आवश्यक सहयोग गर्ने हो भने गन्धर्व समुदाय यो परम्परा जोगाउन तयार रहेको उनको भनाइ छ ।
मालश्रीको धुनसँग जोडिएको परम्परा हराउनु एउटा गीत हराउनु मात्र नभई समुदायको पहिचान, पुर्खाको ज्ञान, धार्मिक आस्था र सांस्कृतिक इतिहास कमजोर हुँदै जानु पनि हो । तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष पदमराज न्यौपानेले मालश्री संरक्षणका लागि नयाँ पुस्तालाई यस परम्पराको महŒव बुझाउन र उनीहरूलाई सिक्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
उनका अनुसार समाजले गन्धर्व समुदायका व्यक्तिहरूको समूह बनाएर सारङ्गी बजाउन र मालश्री गाउन सिकाउने विषयमा स्थानीय सरकारसँग पहल गरिरहेको छ ।
‘मालश्रीको संरक्षणका लागि नयाँ पुस्तालाई यस परम्पराको महत्त्व बुझाउनु, सिक्ने वातावरण बनाउनु र यसमा संलग्न कलाकारलाई प्रोत्साहन गर्न स्थानीय सरकार, संस्कृति संरक्षणमा काम गर्ने निकाय र सम्बन्धित सरोकारवालासँग ठोस पहल थालेका छौं,’ अध्यक्ष न्यौपानेले भने ।
एक दशक अघिसम्म तानसेनका गाउँघर र बजारमा गन्धर्वले मालश्री गाएको सुन्ने र हेर्नेहरूको उत्साह देखिन्थ्यो । गाउँका चौतारी, कोटघर र शक्तिपीठमा मालश्री गुञ्जिँदा दसैंको रौनक थपिन्थ्यो तर अहिले ती ठाउँमा मालश्रीका धुन सुनिन छाडेका छन् ।
रामबहादुर गन्धर्वले आफ्नो प्रयासबाट यो परम्परालाई जीवित राखेका छन् । उनीपछि मालश्री गाउने व्यक्ति नहुने हो कि भन्ने चिन्तासँगै यो मौलिक संस्कृति जोगाउन नयाँ पुस्ताको सहभागिता र सम्बन्धित निकायको सहयोग आवश्यक देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्