नेभिगेशन
प्रदेश

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

झापा । मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लीनिक तथा  प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ ।  नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उपभोक्ता जागरण अभियान नेपालको टोलीले  चारआली, धुलावारी, इट्टाभट्टा र काँकडभिट्टामा सञ्चालित दुई दर्जनभन्दा बढी अस्पताल, क्लीनिक र फार्मेसीमा अनुगमन गरेको थियो । 
विना अनुमति सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई आजैदेखि शिलबन्दी गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए । शिलबन्दीमा मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताल र मेचीनगर–१० धुलाबारीस्थित सामुदायिक स्वास्थ्य सेवा प्रालिसमेत रहेका छन् । इजाजतसम्बन्धी कागजात नभएका दुईवटै संस्थालाई जनही रु दुई लाख ५० हजार जरिवाना गरिएको छ । 
इजाजत नलिई प्रयोगशाला (ल्याब) सञ्चालन गरेका मेचीनगर–१० धुलाबारीको शिखर अस्पताल प्रालिलगायत ११ वटा अस्पताल, क्लीनिक र फार्मेसीलाई रु ७५ हजारका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । 
अवैध रुपमा प्रयोगशाला सञ्चालन गर्दै आएका प्रतिमा जमूना मेडिकल, न्यूमिलन मेडिकल हल, रोहन मेडिकल, दिव्यांशी मेडिकल, बरुनाभ मेडिकल, भरोसा मेडिकल, काँकडभिट्टा आइकेयर सेन्टर, तेजस्वी मेडिकल, रस्मिका फार्मेसी र जीवन रक्षा मेडिकल जनही रु ७५ हजारका दरले जरिवाना गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्