नेभिगेशन
प्रदेश

मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवको तनहुँमा भव्य स्वागत

तनहुँ। मुस्ताङस्थित पवित्र मुक्तिनाथ धामबाट शुभारम्भ भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई कोजाग्रत पूर्णिमाको दोस्रो दिन तनहुँ जिल्लामा भव्य स्वागत गरिएको छ।

विश्वभरिका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो ।

अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य स्वामीजी लगायतका गण्डकी क्षेत्र निवासी दिव्य महापुरुषहरूबाट भगवान् मुक्तिनाथको दिव्य मङ्गलानुशासन भइरहेको आचार्य गोविन्द रेग्मीले जानकारी दिए । तनहुँमा स्वागत समारोहको संयोजन गर्नुभएका रेग्मीले यस वर्ष रथयात्रालाई पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुर्‍याउने लक्ष्य रहेको बताए ।

कार्यक्रमका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामीजीले रथयात्रा सम्पन्न भएलगत्तै नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र नारायण दिव्यधाममा भगवान् श्री गजेन्द्रमोक्ष नारायणको दिव्य विराट महायज्ञ आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले रथयात्रा धार्मिक अभियान मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक तथा महत्त्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै नेपाल सरकारले समेत यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

स्वागत समारोहमा तनहुँका बुद्धिजीवी, पत्रकार तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय