नेभिगेशन
प्रदेश

लयमा फर्किंदै बागमती सरकार

मकवानपुर, १२ असोज - जेनजी प्रदर्शनले बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित अधिकांश सरकारी कार्यालय र मन्त्रालयहरूलाई ठुलो क्षति पुर्‍यायो। १४ मध्ये ७ मन्त्रालय पूर्ण रूपमा जलेर नष्ट भए भने अन्य केहीमा आंशिक क्षति भयो। कागजपत्रदेखि कम्प्युटरजस्ता उपकरण समेत खरानीमा परिणत भए । प्रारम्भिक अनुमानअनुसार क्षति ७० करोड रुपैयाँभन्दा बढीको छ ।

यद्यपि, यस्तो संकटको बीचमा पनि बागमती प्रदेश सरकारले सेवा प्रवाह निरन्तर राख्ने प्रयास गरिरहेको छ। जलेका मन्त्रालयहरूलाई अस्थायी रूपमा अन्य सरकारी भवनमा सारिएको छ। भौतिक पूर्वाधार मन्त्रालय नवनिर्मित सहरी विकास आयोजना भवनबाट, सहकारी मन्त्रालय उद्योग मन्त्रालयकै भवनबाट सञ्चालनमा आएका छन् । अन्य मन्त्रालयहरूले निर्देशनालय, विद्यालय र कार्यालयका आवास भवनबाट सेवा दिइरहेका छन् । 

प्रवक्ता प्रभात तामाङका अनुसार आगामी दुई महिनाभित्र सबै मन्त्रालयहरूलाई पुरानै स्थानमा फर्काउने लक्ष्य राखिएको छ। संकटको बेलामा पनि सरकारले सेवा रोकिएन भन्ने सन्देशले जनविश्वास जोगाउन मद्दत पुर्‍याएको छ । मन्त्रालयहरूको अस्थायी व्यवस्थापनले राज्यको दायित्व र तत्परताको उदाहरण प्रस्तुत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्