कैलाली, ३० असोज - नेपालीहरूको वर्षको सबैभन्दा ठूलो चाड दशैं सकिएर तिहार नजिकिँदै गर्दा सुदूरपश्चिमका बजारहरूमा भने विगतका वर्षहरूझैं चहलपहल देखिन छाडेको छ । विशेषगरी आर्थिक मन्दी, बेरोजगारी, युवाशक्ति विदेश पलायन, प्रकृतिक प्रकोप र पछिल्लो समयको जेनजी आन्दोलनले जनजीवन मात्र होइन, बजार व्यवस्थापन पनि प्रभावित पारेको स्थानीय व्यापारी र नागरिकहरू बताउँछन् ।
वर्षमा एकपटक धुमधामसँग मनाइने चाडपर्वहरू अहिले गाउँघरमा उत्सवभन्दा औपचारिकताझैं मात्र देखिन थालेका छन् । धनगढी, महेन्द्रनगर, अत्तरिया, टीकापुरजस्ता सुदूरपश्चिमका प्रमुख व्यापारिक केन्द्रहरूमा समेत यसपालि उपभोक्ता चाप कम देखिएको छ । बजारमा किनमेल गर्नेको संख्या कम भएपछि फुटपाथ, खुद्रा पसलदेखि सपिङ मलसम्म सुनसान देखिन्छन् ।
व्यापारीहरूका अनुसार चाडपर्वमा सिजनल बिक्री हुने कपडा, जुत्ता, गहना जस्ता सामग्रीमा समेत कारोबार अत्यन्त न्यून भएको छ । भैरव सुनचाँदी पसलका सञ्चालक सुरेश सुनारका अनुसार, ‘पहिला दशैं–तिहार आयो भने दुई–तीन महिनाअघिदेखि तयारी हुन्थ्यो, अहिले सामान ल्याउने पैसा छैन, ल्यायो भने पनि ग्राहक छैनन् ।’
जेनजी आन्दोलन र आपूर्ति समस्या
सुदूरपश्चिममा हालै भएको जेनजी आन्दोलनले जनजीवनसँगै व्यवसायमा पनि प्रत्यक्ष असर पारेको छ । प्रमुख भन्सार नाका गौरीफन्टा बन्द हुँदा व्यापारीहरूले आवश्यक सामान आयात गर्न सकेका छैनन् । यसले बजारमा सामग्रीको अभाव मात्र होइन, व्यापारीहरूलाई घरभाडा तिर्नसमेत समस्या भएको गुनासो बढेको छ ।
वैदेशिक पलायन र उपभोक्ता संख्यामा गिरावट दशैं–तिहारजस्ता पर्वहरूमा विदेशबाट घर फर्कनेको संख्या पनि कम हुँदै गएको छ । युवाशक्ति विदेशमै रहेको र देशमा रहेको जनशक्तिसमेत खर्च गर्न असमर्थ रहेको अवस्था व्यापारीहरू बताउँछन् । सक्रिय उपभोक्ताको अभावले गर्दा चाडपर्वजस्तो विशेष समय पनि सामान्य दिनसरह बितिरहेको छ ।
राजनीतिक अन्योल र जनस्तरको निराशा सामान्यतया चाडपर्वले खुसी ल्याउने र सामाजिक सम्बोधनको अवसर दिने गर्दथ्यो । तर, पछिल्ला समयका राजनीतिक आन्दोलन, प्राकृतिक विपद् र आर्थिक अस्थिरताले नागरिकमा निराशा गहिरिँदै गएको छ । यो अवस्थाले पर्वको रौनक नै घटाएको स्थानीयको भनाइ छ ।
विगतका तुलनामा सुदूरपश्चिमका बजारहरूमा यस वर्षको दशैं र तिहार सुनसान बनेको छ । आर्थिक, सामाजिक र राजनीतिक अस्थिरता तथा आन्दोलनहरूको प्रभावले गर्दा नागरिक र व्यापारी दुवै निराश छन् । चाडपर्वका बेला बजारमा देखिने उत्साह र चहलपहल यो वर्ष हराएको छ । सरकार र सरोकारवाला निकायले समयमै ध्यान नदिए अझ ठूलो आर्थिक र सामाजिक असर पर्ने सम्भावना देखिन्छ ।