काठमाडौं, ८ कात्तिक - काठमाडौंको बौद्धस्थित पाँचतारे ह्यात होटलले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्देशन नआएसम्मका लागि सम्पूर्ण कर्मचारीलाई होटलमा उपस्थित नहुन आग्रह गरेको छ । व्यवस्थापनका अनुसार गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि होटलको संरचना र सुरक्षामा गम्भीर असर परेकाले मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने छ ।
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले जारी गरेको सूचनामा मर्मतका क्रममा देखिन सक्ने जोखिम र संवेदनशीलतालाई ध्यानमा राख्दै अस्थायी रूपमा होटल पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘होटलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाई मध्येनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरू अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’
प्रधानमन्त्रीको चासो, अर्थमन्त्रीको संवाद
होटल बन्द गर्ने निर्णय सार्वजनिक भएपछि शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले यसबारे गम्भीर चासो देखाइन् । उनको निर्देशनपछि अर्थमन्त्री रामेश्वर खनालले होटलका सञ्चालक तथा व्यवस्थापन समूहसँग शनिबार बिहान नै संवाद गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभइ सेवा सुचारु गर्न आग्रह गरेका छन् । अर्थमन्त्री खनालले भने, ‘तपाईँहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं । सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । कति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’
यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुनर्निर्माणका लागि समय लाग्ने
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केही समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए । होटल परिसरमा रहेको क्यासिनोमा सबैभन्दा धेरै तोडफोड भएको छ ।
होटलका अनुसार आक्रमणपछि अधिकांश बुकिङ रद्द भएका छन् र नयाँ बुकिङ पनि घटेका छन् । बीमा दाबी ढिलो प्राप्त हुने, बैंकबाट कर्जा लिन समय लाग्ने भएकाले पुनर्निर्माण गर्न समय लाग्ने होटल व्यवस्थापनले बताएको छ । पुनर्निर्माणको काम हुँदा होटलको सेवा दिन सम्भव नभएपछि केही समय सेवा बन्द गर्नुपर्ने अवस्था आएको हो ।
व्यवसायीहरूको निराशा
ह्यात होटल बन्द भएपछि व्यवसायीहरूले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा देशभरका पर्यटकीय उद्योगहरूमा आक्रमण भएकाले पर्यटन व्यवसाय ध्वस्त भएको र यसले देशको अर्थतन्त्रमा ठूलो असर पार्ने व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । होटल सञ्चालकहरूले नयाँ सरकार बनेपछि क्षतिग्रस्त होटलका लागि कुनै राहत वा पुनर्जीवन योजना नआएको बताएका छन् ।
सिटिजन्स बैंकका अध्यक्ष एवं व्यवसायी प्रबलजंग पाण्डेले आफ्नो सामाजिक सञ्जालमार्फत ठूला होटल, पोखरामा रहेका केही होटल, चन्द्रागिरी केबलकार लगायत धेरै व्यापार व्यवसाय बन्द रहेको, पर्यटक आगमन बन्द रहेको, ठूला उद्योग बन्द रहेको तर राजनीति दल दर्ता, दलमा कार्यकर्ता भर्ति खुल्ला रहेको भन्दै निराशा व्यक्त गरेका छन् । यसले नेपालको व्यवसायीक क्षेत्रमा निराशा बढाएको संकेत गरेको छ ।