नेभिगेशन
नेपाल

'भारतले नेपाली भूमि फिर्ता गर्नुपर्छ'

काठमाडौं, ३० साउन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको ७९औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र पठाउँदै सुगौली सन्धिपछि भारतको अधीनमा रहेको नेपाली भूमि फिर्ता गर्न माग गरेको छ ।

मोर्चाले स्वतन्त्रताको आधारभूत मान्यतालाई सम्मान गर्दै पनि भारतले १९४७ पछि अपनाएको ‘दोहोरो मापदण्ड’ अस्वीकार्य भएको जनाएको छ । खुला पत्रमा पाकिस्तान र बङ्गलादेश स्वतन्त्र भएजस्तै नेपालका गुमेको भूभाग पनि त्यही दिन स्वतन्त्र हुनुपर्ने दाबी गरिएको छ ।

अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षरित पत्रमा मेचीपारि, कालीपारि र गंगादेखि उत्तरको मैदानी भूभागसहित १,८७,०९७ वर्ग किलोमिटर क्षेत्र भारतको अवैध कब्जामा रहेको आरोप लगाइएको छ ।

मोर्चाले विगत दुई दशकदेखि शान्तिपूर्ण अभियानमार्फत गुमेको भूमि फिर्ता गर्न प्रयासरत रहेको र भारत सरकारले नेपाल सरकारसँग मिलेर यस प्रक्रियामा सहकार्य गर्न माग राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्