नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा बढ्दै चहलपहल

काठमाडौँ । करिब एक महिनादेखि सुस्त बनेको शेयरबजारमा अहिले चहलपहल बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से ३९.९२ अंकले बढेकोमा दोस्रो दिन सोमबार ५०.४४ अंकले वृद्धि भई २,६५०.६६ विन्दुमा पुगेको छ । कारोबार रकम समेत उल्लेख्य रुपमा बढेको छ । सोमबार कुल सात अर्ब तीन करोड ५४ लाख ८० हजार रुपैयाँ बराबरको एक करोड ४२ लाख चार हजार ३६२ कित्ता शेयर किनबेच भएको छ ।

अर्थतन्त्र सुस्त रहेको र वास्तविक क्षेत्रमा लगानी हुन छाडेपछि संस्थागत र ठूला लगानीकर्ताले शेयरको खरिद बढाएको देखिन्छ । बजारमा माग बढेपछि अधिकांश कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । सोमबार मात्रै कारोबार भएका २५८ कम्पनीमध्ये २१५ वटाको शेयरमूल्य बढेको छ । बजार बढे पनि ३७ कम्पनीको शेयरमूल्य घटेको छ भने ६ वटाको स्थिर रहेको छ । ‘क’ वर्गका कम्पनीहको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १.७४ प्रतिशत (७.८४ अंक) बढेर ४५६.१३ विन्दुमा पुगेको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक २.०१ प्रतिशत (३.५९ अंक) बढेर १८१.४४ विन्दुमा र सेन्सिटिभ फ्लोट १.८५ प्रतिशत (२.८१ अंक) बढेर १५४.८५ विन्दुमा पुगेको छ ।

लगानीकर्ताको आकर्षण जीवन बीमा कम्पनीमा बढी देखिएको छ । त्यसैले जीवन बीमा समूह ४.९४ प्रतिशत बढेको छ । यस्तै, उत्पादन तथा प्रशोधन समूह ३.७३ प्रतिशत बढेको छ । त्यसपछि, निर्जीवन बीमा समूह २.९९ प्रतिशत, होटल तथा पर्यटन समूह २.२४, लघुवित्त १.९३, लगानी १.८३, अन्य १.६५, फाइनान्स १.४२, बैंकिङ १.४०, विकास बैंक १.२१, जलविद्युत् ०.८०, म्युचुअल फण्ड ०.७९ र व्यापार ०.७६ प्रतिशत बढेको छ ।

झापा इनर्जी, सागर डिस्टिलरी, बन्दिपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्क सर्किट लागेको छ । श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रिजको शेयरमूल्य पनि ९.९८ प्रतिशत बढेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयरकारोबार सबैभन्दा धेरै २४ करोड ८१ लाख रुपैयाँको भएको छ ।

लगानीकर्ताको सम्पत्ति ८५ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ३० अर्ब रुपैयाँ बढेर २५ खर्ब सात अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्