नेभिगेशन
अर्थतन्त्र

सरकारको ऋण २७ खर्ब २९ अर्ब

काठमाडौं । सरकारको ऋण दायित्व २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिक मसान्तसम्म ५५ अर्ब ३६ करोड रुपैयाँ ऋण थपिएको छ । २०८२ असार मसान्तमा सरकारको ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ थियो ।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४४.६९ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.२५ प्रतिशत र आन्तरिक ऋणको ४६.७५ प्रतिशत छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण दायित्व १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ छ ।

सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म एक खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ प्राप्ति गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत छ । यसमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ३३.१५ प्रतिशत र बाह्य ऋणको ८.०३ प्रतिशत रहेको छ ।

सरकारले यस आर्थिक वर्षको चार महिनामा ऋणको साँवा तथा ब्याज गरेर कुल एक खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ भुक्तानी गरेको छ । चालू आर्थिक वर्षको ऋण दायित्व भुक्तानीका लागि चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । भुक्तानी भएको रकम वार्षिक बजेट विनियोजनको आधारमा ३६.७१ प्रतिशत हुन्छ । कुल गार्हस्थ उत्पादनको आधारमा कात्तिक मसान्तसम्म कुल ऋण सेवा खर्च २.४७ प्रतिशत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्