नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा सामान्य वृद्धि

काठमाडौं । शेयरबजारमा कारोबार मापन गर्ने  नेप्से परिसूचक मंगलबार ५.३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशतले वृद्धि भई २,६५५.९९ विन्दुमा पुगेको हो ।

आइतबार र सोमबार दुई दिनमा ९० अंकले बढेको बजार मंगलबार ब्रेक लागेको देखिन्छ । कारोबार सुरु भएको केही मिनेटमै तीव्र गतिमा घटेको बजार तत्कालै सम्हालिएको थियो ।

कारोबार अवधिको अधिकांश समय रातो बनेको बजार अन्तिम समयमा सम्हालिँदा सामान्य बढेर वृद्धि भएको हो ।

कुल पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५७ कम्पनीमध्ये १२२ वटाको शेयरमूल्य बढेको छ भने १२५ वटाको घटेको छ । १० वटाको भने स्थिर रहेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने  सेन्सिटिभ सूचक ०.३० प्रतिशत बढेको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने  फ्लोट सूचक ०.२५ र सेन्सिटिभ फ्लोट ०.३२ प्रतिशत बढेको छ ।

सूचीकृत १३ मध्ये नौ वटा समूह बढेका छन् भने चार वटा घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह १.३३ प्रतिशत घटेको छ । त्यसपछि म्युचुअल फण्ड ०.३४, जीवन बीमा ०.३० र विकास बैंक ०.२४ प्रतिशत घटेको छ ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४१ प्रतिशतले बढेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन १.३० प्रतिशत बढेको छ ।

बन्दीपुर केवलकारको सबैभन्दा धेरै २६ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

झापा इनर्जी र सागर डिस्टिलरीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ९.९८ प्रतिशत बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले भने ४.९६ प्रतिशतले गुमाएका छन् ।

यसदिन लगानीकर्ताको सम्पत्ति नौ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।

साधारण शेयरतर्फको बजार पुँजीकरण पनि तीन अर्ब रुपैयाँ बढेर १५ खर्ब १० अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्