काठमाडौं । भारतसँग विद्युत् आदान–प्रदान गर्न महत्त्वपूर्ण मानिएको ४०० केभी बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको खण्डको निर्माण सुरु भएको छ । नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म रुट पर्ने यो प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर लाइनको निर्माण सुरु गरिएको हो ।
एमसीए–नेपालले बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा कार्यक्रम आयोजना गरी देशकै दोस्रो ठूलो अन्तरदेशीय प्रसारण लाइन निर्माणको शुभारम्भर गरेको हो । अन्तरदेशीय प्रसारण लाइनसँगै ४०० केभी न्यू बुटवल सबस्टेसनको निर्माण पनि सुरु गरिएको एमसीए–नेपाल कार्यकारी निर्देशक खड् गबहादुर विष्टले बताए ।
भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले प्रसारण लाइन निर्माणको काम गर्दैछ । सम्झौता अनुसार भारतीय कम्पनीले अबको २१ महिनाभित्र यो अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न गरिसक्नेछ । प्रसारण लाइनको यो खण्ड निर्माण गर्न भारतीय कम्पनीसँग एक करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको छ ।
विष्टले अन्तरदेशीय प्रसारण लाइन निर्माणको शुभारम्भ हुनुले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा एउटा नयाँ अध्याय थपिएको बताए । उनले यो प्रसारण लाइन र न्यू बुटवल सबस्टेसन भारतसँग विद्युत् व्यापार विस्तार गर्न महत्त्वपूर्ण मानिने बताए ।
‘देशको ऊर्जा सुरक्षाका लागि यो प्रसारण लाइन आयोजना महत्त्वपूर्ण छ । साथसाथै, देशलाई दीर्घकालीन लाभ दिलाई नयाँ अवसरहरू सिर्जना गर्नका लागि पनि महत्त्वपूर्ण हुनेछ,’ उनले भने ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसारद खनालले उच्च क्षमताको बुटवल– गोखरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माणले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने बताए । उनले सरकार विकास निर्माण कार्यमा प्रतिबद्ध छ भन्ने कुरालाई यो अन्तरदेशीय प्रसारण लाइन आयोजनाको निर्माण शुभारम्भ हुनुले प्रतिविम्बित गरेको बताए ।
‘एमसीसी कम्प्याक्टका पूर्वाधारण आयोजना कार्यान्वयन गर्न स्थापना भएको एमसिए–नेपाल अग्रसरतामा देशको प्रसारण क्षमता विस्तारका लागि भएको सम्झौतालाई अब कार्यान्वयनमा गएको छ,’ उनले भने ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भरपर्दाे र गुणस्तरीय विद्युत् प्रसारण प्रणाली निर्माण गर्न नेपालसँग साझेदारकोरूपमा उभिन पाउँदा गर्व लागेको बताए । ‘उच्च क्षमताको प्रसारण लाइन तथा सबस्टेसन जस्ता विद्युतीय पूर्वाधार संरचना निर्माण हुँदा हरेक नागरिकको घरमा बत्ती बाल्न मिल्ने मात्र नभइ देशको व्यापार, उद्योग व्यवसायको प्रवर्धन भई रोजगारीको अवसर सिर्जना हुनुको साथै छिमेकी देशका क्षेत्रीय बजारसम्म विद्युत् निर्यातको पहुँच बनाउन सकिन्छ,’ उनले भने ।
१८ किलोमिटर लामो यो अन्तरदेशीय प्रसारण लाइन आयोजना नेपालतर्फ ४०० केभी न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म निर्माण हुनेछ । भारतीय सीमादेखि गोरखपुरसम्मको खण्ड भारतले नै निर्माण गरिरहेको छ । अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको खण्ड निर्माण गर्न ५ करोड अमेरिकी डलर (अहिलेको दरमा ७ अर्ब १० करोड रुपैयाँ) लागत अनुमान गरिएको छ । यो प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा नेपालको बढ्दो जलविद्युत् उत्पादनलाई भारतीय बजारसँग जोड्न सकिनेछ ।
यो प्रसारण लाइन निर्माण सम्पन्न हुँदा दुई हजार मेगावाट विद्युत् आयात–निर्यात गर्न सकिने पूर्वाधार तयार हुनेछ । यो प्रसारण लाइन निर्माणले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न भारतसँग गरेको सम्झौता कार्यान्वयनमा सघाउ पुग्ने एमसीए–नेपालले जनाएको छ ।
एमसीसी कम्प्याक्ट अन्तर्गत लप्सीफेदी– रातमाटे, रातमाटे–हेटौंडा, रातमाटे–न्यू दमौली, न्यू दमौली–बुलटव र बुटवल–गोरखपुर गरी ५ खण्डमा ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन आयोजना निर्माण हुँदैछन् । बुटवल–गोरखपुर प्रसारण लाइन बाहेकको २९७ किलोमिटर प्रसारण लाइन खण्डको पनि ठेक्का लागिसकेको छ । प्रसारण लाइनअन्तर्गत रातमाटे, दमौली र बुटवलमा गरी ३ वटा सबस्टेसन निर्माण हुँदैछन् ।