नेभिगेशन
अर्थतन्त्र

भगवती कम्पोजिटले आईपीओ ल्याउने

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशतका दरले प्रतिशेयर एक सय रुपैयाँमा बिक्री गर्न लागेको हो । कम्पनीले ६ लाख ४४ हजार कित्ता शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बुधबार कमलपोखरी स्थित क्यापिटलको कार्यालयमा शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा भगवती कम्पोजिटकी अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र क्यपिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका हुन् । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरू उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।

अत्याधुनिक सिट मोल्डिङ कम्पाउन्ड प्रविधिमा आधारित कभरहरू, डब्लूपीसी उच्च घनत्व होलो ढोका पार्टेसन बोर्ड एवम् वाल क्याडिङ, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन् । फाइबर रेनफोस्र्ड प्लास्टिक टेक्नोलोजी अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आइरहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्कासन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्