नेभिगेशन
अर्थतन्त्र

स्टार्टअप कर्जाका लागि १० हजार आवेदन

काठमाडौं । चालु आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जा लिनका लागि १० हजार भन्दा बढीले आवेदन दिएका छन् । सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि आवेदन दिनेको संख्यामा उच्च वृद्धि भएको देखिन्छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालू आर्थिक वर्षका लागि गत कात्तिक १९ गते २१ दिनको सूचना जारी गर्दै कर्जा लिन आवेदन माग गरेको थियो । सो अवधिमा कर्जा लिनका लागि १० हजार २४४ जनाले आवेदन दिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानमा पुगेर प्रत्यक्ष रूपमा २ हजार ४१ र अनलाइनमार्फत ८ हजार २०३ प्रस्ताव दर्ता भएका छन् । कुल ७३ करोड रुपैयाँको कोष स्थापना गरिएकोमा प्रशासनिक खर्च कटौतीपछि बाँकी रकम कर्जा प्रवाहमा प्रयोग हुनेछ । यस वर्ष कर्जा सुरक्षा (बीमा) कोषका लागि १० प्रतिशत मात्र छुट्याइएको छ, किनकि पछिल्ला दुई वर्षमा प्रवाह भएको कर्जा असुलीमा खासै समस्या नदेखिएपछि प्रतिष्ठानले बीमा कोषका लागि छुट्याउने रकम घटाउन लागेको हो ।

विगतमा प्रतिष्ठानले न्यूनतम पाँच लाख रुपै याँदेखि २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराएको थियो । तर यसवर्ष बजेट अभावका कारण २० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने तयारी गरेको छ ।

कर्जा पाउनका लागि उद्यमी प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारीका रूपमा दर्ता भएकै हुनुपर्नेछ । साथै स्टार्टअप १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोडभन्दा कम र सम्भव भएसम्म प्रविधिमैत्री हुने मापदण्ड तोकिएको छ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, अटोमोबाइल, खाद्य उत्पादन, यातायात र खानी–खनिजजस्ता क्षेत्रका परियो जनालाई उच्च प्राथमिकता दिइनेछ ।

कर्जा उपलब्ध गराउन आवेदनकर्ताको परियोजना प्रस्तुतीकरण, बैंकको क्रेडिट अप्रोजल र मूल्यांकन समितिको अंकभारको आधारमा सिफारिस गरिनेछ ।

गत आर्थिक वर्ष २०८१/८२मा ६ सय ६१ उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ कर्जा वितरण गरिएको थियो । गतवर्ष पाँच हजार १५८ उद्यमीले कर्जा लिनका लागि प्रस्ताव दर्ता गरेका थिए ।

व्यवसाय सुरु गर्न चाहने तर पूँजी अभाव झेल्ने युवाहरुलाई हौसला दिने उद्देश्यले सरकारले स्टार्टअप कर्जा कार्यक्रमको सुरु गरेको थियो । नयाँ प्रविधि प्रयोग गर्ने, समस्या समाधान गर्ने, स्थानीय स्रोत–साधन उपयोग गर्ने स्टार्टअपलाई अगाडि ल्यासउने र कृषि, पर्यटन, स्वास्थ्यदेखि सूचना प्रसिधिसममका क्षेत्रमा सहुलियतपूर्ण कर्जामार्फत उद्यम विस्तार गर्ने उद्देश्य यो कार्यक्रमको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्