नेभिगेशन
अर्थतन्त्र

माथिल्लो मोदी ‘ए’को सुरुङ खन्न ‘रोड हेडर’ मेसिनको प्रयोग

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्न ‘रोड हेडर’ मेसिनको प्रयोग गरिएको छ । आयोजनाको चीनको सिचुआन सुइटान कन्स्ट्रक्सन कम्पनी र नेपालको हाइ हिमालय कम्पनीको संयुक्त उपक्रम (जेभी) कम्पनीले ठेक्का पाएकोमा नेपाली कम्पनी हाइहिमालय हाइड्रो (३एचसी) कन्स्ट्रक्सनले आयोजनाको मुख्य सुरुङ खन्न यो मेसिनको प्रयोग गरिएको हो ।

आयोजनामा विस्फोटक पदार्थको उपयोगबिना नै सुरुङ खन्न नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्लले जानकारी दिए । उनका अनुसार अहिले परीक्षणका रूपमा सुरुङ खन्न यो मेसिनको प्रयोग भइरहेको छ ।

‘चीनमा यो प्रविधिको मेसिन पहिलेदेखि नै प्रयोगमा थियो,’ उनले भने,‘हामीले पनि पहिलो पटक नेपालमा यो मेसिनबाट काम गर्न सुरु गरेका छौं । प्रारम्भिक नतिजा राम्रो आएको छ ।’

यो मेसिनले अहिले दैनिक करिब ३०० मिटर सुरुङ खनिरहेको छ । मल्लका अनुसार मेसिनबाट सुरुङ खन्न भइरहेको प्रगति विस्फोटक पदार्थ प्रयोग गरेर खनिनेभन्दा राम्रो हो । सिभिल संरचना निर्माण अवधिभर सबैभन्दा बढी समय नै मुख्य सुरुङ खन्न लाग्ने हुँदा परम्परागत शैलीबाट माथि उठेर नयाँ प्रयोग गरिएको पनि मल्लले बताए । एक्ससीएमजी कम्पनीको यो मेसिन चीनबाट आयात गरिएको हो । यो मेसिनबाट सुरुङ खन्दा पहाडभित्रको चट्टान कडा भएमा अलि समय लाग्ने तथा सामान्य भएमा एकै दिनको प्रगति बढी हुने गरेको मल्लले बताए ।

माथिल्लो मोदी ‘ए’ नेपाल विद्युत् प्राधिकरणको सहायक मोदी जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेको छ । आयोजना सम्पन्न गर्न निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कुल लगानीको ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । आयोजनामा एनएमबि बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलेप्मेन्ट कम्पनीले (एचआईडीसीएल) सहवित्तीयकरणमार्फत आयोजनामा निर्माण अवधिको ब्याजसहित ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी सम्झौता छ । कुल ऋणमध्ये एनएमबि बैंकको ४ अर्ब ४० करोड र एचआईडीसीएलको ३ अर्ब रुपैयाँ रहने छ । यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्