नेभिगेशन
अर्थतन्त्र

शेयर कारोबारमा हरियालीको संकेत

काठमाडौं । शेयरबजारमा बुधबार कारोबार मापन गर्ने नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेको छ । यस्तै, ६ अर्ब ६९ करोड २ ९ लाख रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका १५७ कम्पनीमध्ये १४२ वटाको शेयरमूल्य बढेको छ भने १०४ वटाको घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । झापा इनर्जी, सागर डिस्टिलरी, स्वास्तिक लघुवित्त र श्रीनगर एग्रिटेक इन्डट्रिजको शेयरकारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १.६४ अंकले बढेर ४५९.१७ विन्दुमा पुगेको छ । यस्तै साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक ०.५४ अंकले बढेर १८२.४५ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक ०.४९ अंकले बढेर १५५.८४ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ समूहमध्ये फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव बीमा बाहेक सबै बढेका छन् । बैंकिङ ०.६६ प्रतिशत, विकास बैंक ०.१२, होटल तथा पर्यटन ०.९९, जलविद्युत ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७१ र व्यापार ०.६८ प्रतिशत बढेको छ । यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरकारोबार सबैभन्दा धेरै ६२ करोड ४३ लाख रुपैयाँको भएको छ । त्यसपछि शिवम् सिमेन्ट्सको २६ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । लगानीकर्ताको सम्पत्ति एक दिनमै १६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि पाँच अर्ब रुपैयाँ बढेर १५ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन देखि नै नेप्से हरियो बनेको छ । चार कारोबार दिनमा नेप्से १०५.३१ अंकले बढेको छ । पछिल्लो समय आर्थिक गतिविधि सुस्त बनेको र वास्तविक क्षेत्रका लगानीकर्ता शेयरबजारमा जाने मनस्थिति बनाएको संकेत देखिएकाले कारोबारसँगै सूचकमा पनि वृद्धि भएको बजारका विश्लेषकहरू बताउँछन् । यस साता कारोबार रकममा पनि सुधार भएको छ । केही ठूला र संस्थागत लगानीकर्ताले खरिद बढाएपछि कारोबार रकम बढेको देखिन्छ ।

ब्याजदर थप सस्तो भएको र बैंकिङ प्रणालीमा उच्च तरलता रहेका कारण बैंकहरूले शेयर धितोमा दिने कर्जा बढाउँदै लगेका छन् । यसको सकारात्मक असर बजारमा परेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्