नेभिगेशन
अर्थतन्त्र

कन्काई पुलको ठेक्का तोडियाे

योजना कार्यालयले गत असोजमा निर्माण कम्पनीसँग ठेक्का नतोड्नुपर्ने कारण सोध्दै स्पष्टीकरण मागेको थियाे

काठमाडौं । डेढ दशकदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्ती जेभीसँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको जनाएको हो ।

झापा गाउँपालिका—२ र गौरीगंज–१ जोड्न करिब ७२३ मिटर लम्बाइको रहने भन्दै ठेक्का लागेको कन्काई पुलको निर्माण १४ वर्षदेखि अलपत्र छ । हुलाकी राजमार्गअन्तर्गतको उक्त पुल नबन्दा स्थानीयलाई वर्षौदेखि वारिपारि गर्न सास्ती छ ।

पक्की पुल डिजाइन एण्ड बिल्ड ढाँचामा निर्माणका लागि जेभीले २०६८ जेठ ३१ मा ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पुल २०७२ जेठ ३० मा तयार भइसक्नुपर्ने थियो । पाँचपटक म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का सम्झौता रद्द गरिएपछि निर्माण कम्पनीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुने भएको छ ।

योजना कार्यालयले गत असोज अन्तिम साता निर्माण कम्पनीसँग ठेक्का नतोड्नुपर्ने कारण सोध्दै १५ दिने स्पष्टीकरण मागेको थियो । पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनको व्यवस्थाअनुसार ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख युवराज पोखरेलले बताए ।

निर्धारित अवधिमा काम पुरा नगरेको, सक्ने अद्यावधिक कार्यतालिका नदिएको र प्रतिबद्धतासहित निर्माण कम्पनीका प्रतिनिधि नआएको भन्दै ठेक्का तोडिएको हो । सार्वजनिक खरिद ऐनको प्रावधानबमोजिम कार्य सम्पादन जमानतबापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ ।

हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारक गर्न कम्पनीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ ।

निर्माण व्यवयासी उपस्थित नभएमा कार्यालयले नापजाँच गर्नेछ । निर्माण कम्पनीले कन्काई पुल निर्माणको काम २०७६ सम्म गर्दै थियो । निर्माणमा त्रुटि देखिएपछि प्राविधिक परीक्षण गरिएको थियो । त्रुटि सच्याउन पनि कम्पनीले केही समय काम गरेको थियो ।

ठेक्का सम्झौताको थपिएको पछिल्लो म्याद २०८० मै सकिएको थियो । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधनबमोजिम निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएको थियो । तर, कम्पनीले काम सम्पन्न ग्यारेन्टी नगर्दा पुनः म्याद थप भएको थिएन । पुलका १९ स्पानमध्ये ८ वटाको काम सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्