काठमाडौं । बढोत्तरीको लय कायम राखेको शेयरबजारले लगानीकर्तालाई हर्षित पारेको छ । साताको अन्तिम दिन पनि सूचक दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से १०.४३ अंकले बढ्दै २६७६.०३ विन्दुमा रह्यो । १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँमा किनबेच भएको छ ।
अघिल्लो दिनका तुलनामा कारोबार रकममा सामान्य गिरावट आए पनि धेरै कम्पनीको शेयरमूल्य माथि उक्लिएको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २.४८ अंकले बढेर ४६१.६६ विन्दुमा पुगेको छ । यस्तै साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक १.१४ अंकले बढेर १८३.५९ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.२१ अंकले बढेर १५७.०६ विन्दुमा कायम भएको छ । १३ उपसमूहमा फाइनान्स, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापारबाहेक सबै बढेका छन् । वाणिज्य बैंक उपसमूह सर्वाधिक १.४९ प्रतिशतले बढेको छ । विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३२, लगानी ०.८३, जीवन बीमा ०.१४, म्युचुअल फण्ड ०.७८ र निर्जीवन बीमा ०.१० प्रतिशतले बढेका छन् ।
१३१ कम्पनीको शेयरमूल्य बढेको छ भने १२१ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रह्यो । बढेकामध्ये चार कम्पनीका लगानीकर्ता अत्यधिक फाइदामा रहे । हालै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएका कम्पनीहरूको शेयरमूल्य लगातार उच्च भइरहेको हो । सागर डिष्टिलरीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयर दोस्रो बजार कारोबारका लागि कात्तिक २० देखि नेप्सेमा सूचीकृत भएको हो । सुरुमा प्रति कित्ता ३१९ रुपैयाँ ५० पैसा रहेको शेयरमूल्य बिहीबारसम्म बढेर १३ सय ३३ रुपैयाँ २० पैसा पुगिसकेको छ । यस्तै हालै आईपीओ ल्याएर दोस्रो बजारमा आएका तीन कम्पनी स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको शेयरमूल्य सर्किटस्तरमा ९.९९ प्रतिशतले बढेको छ । स्वस्तिकको शेयर अन्तिम कारोबार मूल्य प्रति कित्ता ८ सय १५ रुपैयाँ ९० र झापा इनर्जीको ७ सय ३३ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै श्रीनगर एग्रीटेकको ४ सय ४१ रुपैयाँ ४० पैसा भएको छ । यसैगरि एनआरएन इन्फ्रास्ट्रचरको ९.६२ र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्यमा ५.८१ प्रतिशतले बढेको छ ।
शेयरमूल्य घटेकामध्ये दुई कम्पनीका लगानीकर्ता बढी नोक्सानमा छन् । हिमस्टार ऊर्जा कम्पनीको र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको समान ७.७८ प्रतिशतले घटेका छन् । बजारमा सर्वाधिक कारोबार भएका कम्पनीको सूचीमा एनआरएन इफ्रास्ट्रक्चर पहिलो बनेको छ । उक्त कम्पनीको शेयर ४० करोड १ लाख रुपैयाँको किनबेच भएको छ । अन्तिम कारोबारमा शेयरमूल्य प्रति कित्ता १५ सय १५ रुपैयाँ २० पैसा कायम भएको छ ।
यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख, हिमालय रि इन्स्योरेन्सको १५ करोड ९७ लाख, सीइडीबी होल्डिङ्सको १५ करोड ७८ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ५० लाखको शेयर कारोबार भएको छ । यसअघि बुधबार नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रहँदा ६ अर्ब ६९ करोड २ ९ लाख रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर किनबेच भएको थियो ।