नेभिगेशन
अर्थतन्त्र

एनआरएनएबीच एकता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई संगठनबीच एकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

११औं महाधिवेशनबाट निर्वाचित डा बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत एकताको सम्झौतामा हस्ताक्षर भएको हो । सञ्चारमन्त्री खरेलको विशेष पहल र अग्रसरतामा एनआरएनका दुई समूहबीच एतिहासिक एकता कायम भएको हो । सहमति पत्रमा ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सो अवसरमा सञ्चारमन्त्री खरेलले बृहत एकतालाई दिगो बनाउन आग्रह गरे । उनले भने, ‘एनआरएनएबीच बृहत एकताको हस्ताक्षर भएको छ । यो हस्ताक्षर कागजमा भएको छ । यो हस्ताक्षर मन र मस्तिस्क दुवैमा कायम रहोस् । व्यवहारिक कार्यान्वयन र दिगो रुपमा एकता अगाडि बढोस् । फुटेर हैन, जुटेरै अगाडि बढ्न सकिन्छ ।’

सञ्चारमन्त्री खरेलले एनआरएनएको एकताले ८० लाख गैरआवासीय नेपालीलाई सकारात्मक सन्देश दिएको उल्लेख गरे । उनले भने, ‘नेपालमा एनआरएनएको स्थापनाको आरोह अवरोहमा छुट्टै अझ, गरिमा, विश्वास र सम्मान यहाँहरूले कामय गर्नुभएको थियो । पछिल्ला वर्षमा यो खस्किँदै गयो । किनकि एनआरएनएबीच विभाजन आयो । अहिले एउटा ठूलो अवसर आएको छ । एनआरएनलाई पार्टी भन्दामाथि उठेर जनताको संस्थाका रूपमा स्थापित गराउनुस् ।’

एनआरएनए अध्यक्ष डा केसीले एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढंगले लाग्ने प्रतिबद्धता जनाए । उनले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुनेगरी कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिए । अध्यक्ष केसीले भने, ‘हामी चार वर्ष अलमलिएका थियौं, संस्थाभित्र मतान्तर थियो । तर पनि सोच र कार्यशैलीबाट भिन्न थिएनौं, यो एकताले संस्थालाई बलियो बनाएको छ । यो एकता भनेको अठोट र विश्वासको हो सम्पूर्ण ८० लाख नेपालीको एकता पनि हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्