नेभिगेशन
अर्थतन्त्र

‘सडकबाट कसैलाई अपराधी घोषणा गर्न मिल्दैन’

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कानुनी राज्यमा कसैलाई सडकबाट अपराधिकरण गर्न नमिल्ने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को २९औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले देशभित्र लगानी गरेर सम्पत्ति सिर्जना गर्ने व्यक्तिले कुनै गल्ती गरेको अवस्थामा उसलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकिने तर, आन्दोलनको नाममा सडकबाट अपराधी घोषणा गर्न नमिल्ने बताएका हुन् ।

जेनजी आन्दोलका क्रममा केही निजी लगानीका सम्पत्तिमा समेत आक्रमण भएको बताउँदै अर्थमन्त्री खनालले यस्ता घटना हुनुमा सञ्चार माध्यममा प्रवाह भएको गलत सूचना कारक भएको बताए ।

उनले देशको अर्थतन्त्रलाई अहिलेको अवस्थामा पुर्‍याउनुमा निजी क्षेत्रले गरेको लगानीको ठूलो योगदान रहेको बताउँदै निजी क्षेत्रको लगानीमाथि आक्रमण हुँदा पनि राज्यकै सम्पत्तिमा क्षति हुने बताए । अहिलेको युगमा समेत आन्दोलदनको नाममा निजी क्षेत्र तथा विदेशी लगानी भएका सम्पत्तिमाथि आक्रमण हुनुमा केही हदसम्म गलत सूचना प्रवाह हुनुपनि मुख्य कारण देखिएकाले पत्रकारले सही र आधिकारिक समाचार मात्रै सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।

‘हरेक पटक आन्दोलन हुँदा वा राजनीतिक असन्तुष्टी देखिँदा निजी क्षेत्रले सिर्जना गरेको उद्योग, व्यापार व्यवसाय तथा निजी सम्पत्ति माथि नै सधै किन आक्रमण हुन्छ ? भन्ने कुरा निजी क्षेत्रले उठाउँदै आएको छ,’ उनले भने, ‘मुलुकभित्र जो कसैले जलविद्युत् आयोजना निर्माण गर्‍यो, डिपार्टमेन्ट स्टार खोल्यो, होटल बनायो, उद्योग स्थापना गर्‍यो भने त्यो देशकै सम्पत्ति हो ।’ उनले हिजोका दिनमा विदेशी लगानीमा बनेका भौतिक सम्पत्ति स्वामित्व हस्तान्तरण भएर सरकारकै अधिनमा आइसकेकाले ती देशकै सम्पत्ति भएको बताए ।

‘लोकतन्त्रमा स्वतन्त्र विचार राख्न पाउने कुरामा विश्वास राख्न सकिन्छ तर, गलत सूचना प्रवाह भयो भने त्यसले ल्याउने विध्वंशले दुर्घटना निम्त्याउँछ,’ खनालले भने ।

नयाँ सरकार गठनपछि ठेक्का सम्झौता भई निर्माणमा गएका पूर्वाधार आयोजनाको निर्माणले गति लिन थालेको पनि उनले बताए । ‘काम प्रारम्भ भइसकेका तथा ठेक्का सम्झौता भइसकेका पूर्वाधार आयोजनालाई मन्त्रालयले निरन्तरता दिएको छ । राष्ट्रिय महत्त्वका आयोजनामा बजेट अभाव हुन नदिइ चाँडै काम सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘ती आयोजनाको निर्माण धेरै तीव्र गतिमा भएको छ भन्ने दाबी त म गर्दिन, तर पहिलेको भन्दा गति लिएको छ ।’ उनले आगामी दिनमा कानुनी प्रक्रियाबाट मात्रै सबै विशिष्ट तथा पूर्वविशिष्टहरूले करदाताको पैसाको उपयोग गरी कतिसम्मको सुविधा लिन पाउने भन्ने सम्बन्धमा अर्थमन्त्रालयले अहिले कार्यविधि बनाइरहेको पनि खनालले बताए ।

देशभित्रको लगानीको वातावरणका सम्बन्धमा आउने समाचारले बजारमा सकारात्मक प्रभाव पर्न गई मानिसहरूको लगानी गर्ने सोचको विकास हुने उनको भनाइ थियो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले देशले आर्थिक उन्नतीको गति समात्न नसक्दा रोजगारीको अवसर सिर्जना हुन नसकेकै कारण लाखौं युवाले हरेक दिन देश छोडिरहेको बताए । उनले वर्तमान सरकारको मुख्य प्राथमिकता तोकिएको समयमा शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी सुशासन कायम गर्ने तथा सेवा प्रवाहमा गुणात्मक सुधार गर्ने रहेको बताए । अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गरी लगानीको सुरक्षा गर्ने तथा लगानीमैत्री वातावरणमा सुधारका लागि नीतिगत व्यवस्था र कार्य पद्धतिमा सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले अहिले बैंकमा थुप्रिएको पुँजीको व्यवस्थापन मुख्य समस्या बनेको बताए । उनले बैंकमा पैसाको उचित व्यवस्थापन हुन नसक्दा यसको प्रभाव सबै क्षेत्रमा परिरहेको बताए ।

‘अहिलेको पहिलो नम्बरको समस्या भनेको नै लिक्विडिटी व्यवस्थापन भएको छ,’ उनले भने, ‘लिक्विडिटीको व्यवस्थापन हुन नसकेकै कारण यसको अरु साइड इफेक्टहरू पनि आइरहेका छन् ।’ उनले बैंकमा थुप्रिएको पुँजी विकास निर्माणमा लगानी हुन नसक्दा बैंकहरूको नाफामा यसको प्रभाव परिरहेको बताए । अहिले देशको अर्थतन्त्र केही सुस्त भएपनि यसले गति लिनेमा आफु आशावादी रहेको पनि उनले बताए । उनले नीतिगत सुधार गरेर विकास निर्माणको क्षेत्रमा खर्च बढाउनु पर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा युवाले उठाएको भ्रष्ट्राचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने मुद्दा आफुहरूले नै उठाउँदै आएको बताए । उनले जेनजी आन्दोलन राम्रो उद्देश्यका लागि भएपनि निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट र आगजनीका घटनाको समर्थन गर्न नसकिने बताए । निजी क्षेत्रको लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्रको लगानी खुम्चिँदै जानुमा सरकारी नीति बाधक रहेको बताए । उनले नेपाल राष्ट्र बैंकको प्रतिवेदनले बाह्य क्षेत्रलाई राम्रो देखाएपनि विकास निर्माणमा लगानी बढ्न नसकेको बताए । जेनजी आन्दोलनपछि निजी क्षेत्र पर्ख र हेरको अवस्थामा रहेको पनि उनले बताए । निर्वाचनपछि निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउन नीतिगत सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेशकुमार अग्रवालले आयकर २०५८ को संशोधन गरी सहज र सरल बनाउनु पर्नेमा जोड दिए । देशको अर्थतन्त्रको मुहान नै निजी क्षेत्र भएको बताउँदै अग्रवालले कानुनी प्रक्रियाका लागि एकद्वार नीति प्रभावकारी ढंगले लागू गरी मुहानको संरक्षण गर्नुपर्ने बताए ।

अग्रवालले कोभिड–१९ पछि मुलुकको आर्थिक अवस्था पूर्णरूपमा सुधार हुन नसकेको उल्लेख गर्दै पछिल्लो समय औद्योगिक प्रतिष्ठानहरू सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको बताए । निजी क्षेत्रको मनोबल दिनप्रतिदिन खस्किरहेको बताउँदै लगानी सुरक्षाको प्रत्याभूति राज्यले अनिवार्य गर्नुपर्नेमा उनले जोड दिए ।

पत्रकार पुरस्कृत

सेजनको वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा कलम चलाउने आर्थिक पत्रकारहरूलाई सम्मान गरिएको छ । यस वर्षको सेजन अवार्ड पत्रकार द्वय भुवन पौडेल (अनलाइन खबर डटकम) र पवन तिम्सिना (नयाँ पत्रिका दैनिक) लाई प्रदान गरिएको छ । सेजन छापा माध्यम अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडाले पाएका छन् ।

यस्तै, सेजन डिजिटल माध्यम अवार्ड क्लिकमाण्डु डटकमका सुनिल कुवँरलाई, डा.भोला चालिसे लिवरल जर्नालिजम अवार्ड पत्रकार द्वय उद्धव थापा (नेपाल न्यूज डटकम) र सुनिता कार्की कोइराला (अन्नपूर्ण पोष्ट दैनिक) लाई प्रदान गरिएको छ । यस्तै, स्वर्गिय सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार २०८२, भेषराज बेलबासे (गोरखापत्र दैनिक) लाई प्रदान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्