नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा परेन मौद्रिक नीति समीक्षाको प्रभाव

काठमाडौं । शेयरबजारमा कारोबार मापन गर्ने नेप्से परिसूचक सोमबार पनि घटेको छ । नेप्से ४.२८ अंकले घटेर २,६४५.२४ विन्दुमा कायम भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै नीतिगत विषयमा लचक भए पनि त्यसको प्रभाव बजारमा पर्न सकेन । शेयरबजारसँग सम्बन्धित विषयमा कुनै हेरफेर नगरेपछि बजारमा त्यसको असर नपरेको लगानीकर्ताहरू बताउँछन् ।

गतसाता नेप्से ११५ अंक बढीले बढेको थियो । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम प्रसस्त भएको र अन्य क्षेत्रमा कर्जाको माग नभएपछि केन्द्रीय बैंकले मौद्रिक समीक्षामार्फत शेयरबजारमा कर्जा प्रवाह बढाउने नीति लिने अपेक्षा गरेका कारण बजारमा हरियाली देखिएको थियो । तर केन्द्रीय बैंकले कुनै नयाँ व्यवस्था नगरेपछि लगानीकर्ताले शेयर खरिद घटाएको देखिन्छ । यहीकारण कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार सात अर्ब बढीको कारोबार भएकामा सोमबार चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बराबरको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच भएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ०.३७ प्रतिशत घटेर ४५५.२६ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ०.२६ प्रतिशत घटेर १८१.०५ विन्दु र सेन्सिटिभ फ्लोट सूचक ०.४९ प्रतिशत घटेर १५४.६२ विन्दुमा कायम भएको छ । सूचीकृत १३ समूहमध्ये विकास बैंक, फाइनान्स, जलविद्युत, उतपादन तथा प्रशोधन र लघुवित्त समूह बढेका छन् । बैंकिङ, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूह घटेका छन् ।

कारोबार भएका २५८ कम्पनीमध्ये १२६ वटाको शेयरमूल्य घटेको छ । यस्तै १२४ वटाको बढेको छ भने बाँकी आठ वटाको स्थिर रहेको छ ।

बजार घटे पनि यसदिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । निफ्रा, ग्रीन इनर्जी डिबेन्चर ६ प्रतिशत–२०८८/८९का इकाइधनीहरूले सर्वाधिक ९.५१ प्रतिशत मूल्य गुमाएका छन् । युनाइटेड मोदी हाइड्रोपावरको शेयरकारोबार सबैभन्दा धेरै २७ करोड १० लाख रुपैयाँको भएको छ ।

लगानीकर्ताको सम्पत्ति एक दिनमा सात अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयर तर्फको बजार पुँजीकरण पनि चार अर्ब रुपैयाँ घटेर १५ खर्ब तीन अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्