नेभिगेशन
प्रदेश

चिसो बढेपछि मुगुका गाउँ खाली

मुगु । चिसो बढ्दै जाँदा उच्च भेगबाट गाउँ छाड्नेको लर्को लागेको छ । मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ वडा नम्बर २ को मुगु गाँउ खाली हुँदैछ । नाक्चेलाग्ना सीमा प्रहरी चौकी, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय सबै बन्द भएका छन् । हिउँदको चिसो छल्न एक सय २० परिवारले घर छाडेका छन् ।

हिउँदमा मुगु गाउँमा चिसो स्याँठ चल्छ । चिसो हुञ्जेल यहाँका बासिन्दा २ घण्टा पैदल दूरीको सिरानचौर, पुलु पुग्छन् । कतिपय परिवार सदरमुकाम गमगढी पनि जाने गरेका छन् । कतिपय जुम्ला, सुर्खेत र काठमाडौंसम्म पनि पुग्छन् ।

गाउँमा दुईवटा गुम्बा छन् । त्यसका पूजा गर्ने दुई जना लामा मात्रै छन् । नाक्चेलाग्ना सीमा प्रहरी, स्वास्थ्य चौकी र विद्यालयका सेवा सिरानचौर सरेको छ । ‘अब गाउँले फर्किने चैत–वैशाखतिर मात्रै हो,’ स्थानीय टासी लामाले भने, ‘हिउँदमा यहाँ जनप्रतिनिधि, प्रहरी, शिक्षक कोही बस्दैनन् ।’

समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय जाडो मौसममा ६ महिना बेंसी र गर्मी मौसममा ६ महिना गाउँमै बस्ने गरेका छन् । मुगुम कार्मारोङ–२ का वडाध्यक्ष च्याबा लामाले चौपायाहरू पाटनतिर पुर्‍याइएको बताए । ‘बेला–बेला चौंरीमालिक पाटनतिर गएर चौंरी हेर्छन्, फर्किन्छन् । हामीहरूको बास बस्ने ठाउँ छुट्टै छ ।’ हिउँदभरि विकास निर्माणका काम पनि प्रभावित हुने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्