नेभिगेशन
अर्थतन्त्र

कोटेश्वरमा फ्लाइओभर बनाउन जापानसँग ३१ अर्ब ७६ करोड ऋण

काठमाडौं । सरकारले कोटेश्वर–जडिबुटी सडकमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्नका लागि जापान सरकारसँग ऋण लिन सम्झौता गरेको छ । कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानले ३१ अर्ब ७६ करोड रुपैयाँ (३४ अर्ब ५९ करोड येन) ऋण उपलब्ध गराउने भएको हो । यो ऋण जाइकामार्फत उपलब्ध हुनेछ ।

बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल र जापान सरकारबीच ऋण उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनाको ऋण सहायता सम्बन्धित ‘एक्सचेन्ज अफ नोट’ सम्झौतामा नेपालकोतर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानकोतर्फबाट नेपालका लागि जापानी राजदूत मायदा तोरूले हस्ताक्षर गरेका छन् । यस्तै, ऋण सहायतासम्बन्धी सम्झौतामा अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख एवम् सह–सचिव धनीराम शर्मा र जाइकाका नेपाल प्रमुख मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार जापानले उपलब्ध गराएको ऋण सहायता रकम कोटेश्वर तथा जडिबुटी सडक खण्डमा अन्डरपास तथा ओभरपास निर्माणमा खर्च गरिनेछ । यो ऋणको वार्षिक ब्याजदर ०.२ प्रतिशत हुनेछ । यस्तै, ऋणको गे्रस अवधि १० वर्षको हुनेछ भने नेपालले सावाँ र ब्याजबापतको रकम ३० वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ ।

ऋण सहायतासम्बन्धी सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जापानसँगको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले नेपाल जापान सहकार्य अन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो आयोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने दाबी गरे ।

नेपालका लागि जापानी राजदूत मित्सुजाकी माजुकीले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे ।

काठमाडौं, ललितपुर, भक्तापुर तथा बिपी राजमार्ग भएर चल्ने सवारी सानधको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनिकरण गर्न कोटेश्वर–जडिबुटी सडक खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्न लागिएको हो । कोटेश्वर– गडिबुटी खण्डमा हुने सवारी चापले ट्राफिक व्यवस्थापन सधैं अस्तव्यस्त हुँदै आएको छ । लामो समयसम्म हुने जामको समस्याले यात्रुले सधैं सास्ती झेल्नु पर्ने अवस्था छ ।

सरकारले ट्राफिक वयवस्थापन सहज बनाउनकै लागि आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा कोटेश्वर चोक सुधार आयोजनाअन्तर्गत अन्डरपास र फ्लाइओभर निर्माण घोषणा गरेको थियो । जापानी सहयोग नियोग (जाइका)ले यो आयोजना निर्माणका लागि अध्ययन पूरा गरेपछि अब निर्माणमा जाने तयारी अवस्थामा पुगेको हो ।

जाइकाले दिएको अध्ययन रिर्पोटअनुसार तीनकुने चोक र जडीबुटीमा फ्लाइओभरको भौतिक संरचना निर्माण गरिनेछ भने कोटेश्वर चोकसहित बीचको खण्डमा अन्डरपास बनाइने भएको छ ।

सडक विभागका अनुसार मनोहरा पुलदेखि पेप्सीकोला मोडिने चोकसम्म फ्लाइओभर निर्माण गरिने छ भने जडीबुटीबाट तीनकुनेको मुनिभैरव मन्दिर छेउसम्म ६०० मिटर लामो सुरुङमार्ग बन्नेछ । यो सुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे–सिग्नल दिने लाइट राखिएको क्षेत्रभन्दा मुनि भएर खन्ने डिजाइन छ । तीनकुनेको मुनि भैरव मन्दिरसम्म बन्ने सुरुङमार्गको मुखैमा फ्लाइओभर जोडेर बाग्मती पुलसम्म ल्याइनेछ । दुवैतर्फ गरेर करिब ५०० मिटर लामो फ्लाइओभर निर्माण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्