नेभिगेशन
अर्थतन्त्र

सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट पाएको सफाइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । अख्तियारले सर्वोच्चमा प्राधिकरणको अध्यक्षको नियुक्ति पाउन झुटो जन्ममिति पेस गरेको विषमा विशेष अदालतबाट पाएको सफाइविरुद्ध बुधबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।

विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

सिलवालले जन्ममिति परिवर्तन गरी पद बहाल रहन मन्त्रिपरिषद् तथा सम्बन्धित निकायमा ‘झुट्टा विवरण’ पेस गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिलवालले आफ्नो वास्तविक जन्ममिति २०१५ साउन १५ गते रहे पनि २०१६ कात्तिक २२ भएको नागरिकता पेस गरी बीमा प्राधिकरणको अध्यक्षको नियुृक्ति लिएका थिए । उनले राहदानी विभागमा समेत तीन वर्ष उमेर घटाई कूटनीतिक तथा विशेष राहदानी हासिल गरिएको, त्यसबाट लाभ–सुविधा लिएको जिकिर गरिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १५ र १६ (१) अनुसार सजाय माग गरेको थियो । अख्तियारले २०८० साउन १५ देखि यता लिएको ३६ लाख ६२ हजार १५४ रुपैयाँ १६ पैसा बराबरको लाभ–सुविधा असुल– जफत गर्न माग गरेको थियो । तर विशेष अदालत काठमाडौंले २०८१ पुस २ गतेको फैसलाबाट सफाइ दिएको थियो ।

सो फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा २०८२ मंसिर १७ गते –मंगलबार) पुनरावेदनको निवेदन दर्ता गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्