नेभिगेशन
प्रदेश

पौने ३ लाखले गरे अन्नपूर्ण क्षेत्र भ्रमण

कास्की– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा नौ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको हुन् । आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको तथ्यांङ मात्र राख्छ । सडक मार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बर्सेनि बढ्दैछ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ् ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्