नेभिगेशन
प्रदेश

बाँस प्रवर्द्धन गर्ने मझुवागढीलाई नास्टको पुरस्कार

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो ४३ औँ वार्षिकोत्सवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको छ । बाँसजन्य स्रोतको संरक्षण,प्रवर्द्धन र त्यसको व्यवहारिक तथा व्यावसायिक उपयोगमा उत्कृष्ट काम गरेको भन्दै नगरपालिका यस वर्षको उत्कृष्ट स्थानीय तहका रूपमा चयन भएको नाष्टले जनाएको छ ।

नगरपालिकाले स्थानीयस्तरमा उपलब्ध बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन, वातावरणमैत्री समाधान तथा सीप विकासका क्षेत्रमा प्रभावकारी रूपमा रूपान्तरण गरेको मूल्याङ्कनपछि यो पुरस्कार दिइएको हो । नाष्टका अनुसार, कृषि, वातावरण, जलस्रोत, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता तथा प्राविधिक सुविधासहितका विभिन्न सूचकमा नगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री तथा नाष्टका कुलपति सुशीला कार्कीको अध्यक्षतामा मङ्सिर १२ गते बसेको ४९ औँ प्राज्ञसभाबाट दिक्तेल रुपाकोट मझुवागढीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो । २५ हजार रुपैयाँ राशिको पुरस्कार ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नाष्टका सहकुलपति महावीर पुनले हस्तान्तरण गरिएको थियो ।

पुरस्कार ग्रहण गर्दै नगरप्रमुख तीर्थराज भट्टराईले यो उपलब्धि नगरवासीको सामूहिक प्रयास र प्रतिबद्धताको परिणाम भएको बताउँदै आगामी दिनमा कृषि, शिक्षा, वातावरण, सामाजिक समावेशीकरण र सुशासनमा अझ प्रभावकारी काम गर्ने प्रेरणा मिलेको उल्लेख गरे । नगरप्रमुख भट्टराईले बाँस तथा बाँसजन्य उद्योगप्रवर्द्धनका लागि पटक–पटक राष्ट्रिय तहमा दबाब सिर्जना गर्दै आएका थिए ।

उनकै निरन्तर प्रयासपछि संघीय सरकारले पहिलोपटक बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिने मार्गदर्शन स्वीकृत गरेको छ । उक्त मार्गदर्शनमा बाँसको कटानी, ग्रेडिङ, रासायनिक संरक्षण, भण्डारणदेखि भूकम्प प्रतिरोधी भवन निर्माणका प्राविधिक मानक र नमूना डिजाइनसम्म समावेश छन् । यसले बाँस उद्योग स्थापना, लागत–किफायती तथा वातावरणमैत्री निर्माणप्रवर्द्धन र स्थानीय उत्पादन विस्तारमा ऐतिहासिक मोड ल्याएको उपप्रमुख विशन राईले बताए ।

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित गत फागुन १५ देखि तीनदिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ पनि आयोजना गरेको थियो । सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना, फागुन १५ लाई ‘राष्ट्रीय बाँस जागरण दिवस’का रूपमा मनाउने तथा प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्नेजस्ता महत्वपूर्ण निर्णयहरू समेटिएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—जसले जिल्लाका १० स्थानीय तहमध्ये भूगोल र जनसंख्याका हिसाबले सबैभन्दा ठूलो १५ वटा वडा समेटेको छ—देशभर पाइने बहुउपयोगी वनस्पति ‘बाँस’लाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने अभियान सञ्चालन गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्