नेभिगेशन
प्रदेश

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी – नेपालमा पाइने २३ मध्ये दुई प्रजातिका लाटोकोसेरो भेटिएको बास्कुना क्षेत्रलाई लाटोकोसेरो संरक्षण क्षेत्र घोषणा बनाइएको छ । बेनी नगरपालिका–४ मा रहेको देउरालीपाखा सामुदायिक वन क्षेत्रको बास्कुनालाई लाटोकोसेरो जोगाउन र पर्यापर्यटन प्रवद्र्धन गर्न संरक्षण क्षेत्र बनाइएको हो । सो वन क्षेत्र करिब २१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

देउरालीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम थापाले संरक्षण क्षेत्र घोषणा र सचेतनामूलक कार्यक्रमका सञ्चालन भएपछि लाटोकोसेरो प्रशस्त देखिन थालेका बताए । ‘प्रकृतिका साथी संस्थाले डिभिजन वन कार्यालयसँगको समन्वयमा एक वर्षअघि घोषणा गरेको देउरालीपाखा सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष तथा गुलेली प्रतिबन्धित क्षेत्र प्रभावकारी बनेको छ,’ उनले भने, ‘यो वन क्षेत्रभित्र गुलेली प्रयोग गरी चरा मार्न, लाटोकोसेरोको गुँड भएको रुख काट्न तथा यिनको शिकार गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएका छौं ।’

अध्यक्ष थापाका अनुसार एक वर्षअघि गरिएको अध्ययनका क्रममा बास्कुनामा नेपालमा पाइने २३ मध्ये दुई प्रजातिका लाटोकोसेरो भेटिएका थिए । बेनी–४ का वडासदस्य तथा बास्कुनाका बासिन्दा सन्दीप खत्रीले लाटोकोसेरोको संरक्षणसँगै बास्कुना कृषि र पर्यापर्यटनको गन्तव्य बनाउन लागिएको बताए । २५ घरधुरीको बसोबास रहेको बास्कुना गाउँमा सुन्तलाखेती छ । सुन्तला बगैंचाको वरपरको जंगलमा लाटोकोसेराको बासस्थान छ । राति र साँझको समयमा लाटोकोसेराको आवाज सुनिन्छ । ठूला र बूढा रुख लाटोकोसेरोका बासस्थान हुन् । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको छ ।

सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको संरक्षणविद् डा हुम गुरुङले बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्