नेभिगेशन
प्रदेश

हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्रयापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्च लेकमा हिउँ चितुवा संख्या यकिन गर्न क्यामेरा ट्रयापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।

बायोकोर्स नेपाल र एक्याप मिलेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उच्च लेकमा हिउँ चितुवाको संख्या यकिन गर्न, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवाबीचको द्वन्द्वको अवस्था पहिचान गर्न तथा जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा पारेको असर र विद्यमान अवस्थाको जानकारी लिन अनुसन्धान थालिएको बायोकोस नेपालका प्राणीशास्त्री बुद्धिबहादुर गुरुङले बताए ।

वारागुङ मुक्तिक्षेत्रको झोङ, पुडाक, छेंगुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्च लेकमा १५ वटा क्यामेरा जडान गरिएको छ । घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्चलेकमा थप क्यामेरा जडान गरिने पनि उनले बताए । हिउँ चितुवाका सम्भावित बासस्थानलाई केन्द्रित गरी राखिएका क्यामेरा ट्रयाप दुई महिनासम्म राखिने छन् । ‘क्यामेरामा कैद भएका डाटा सबै एक्यापलाई हस्तान्तरण गरिनेछ । हामीले हिउँ चितुवाको यकिन मात्रै गर्छौं,’ गुरुङले भने ।

माथिल्लो मुस्ताङमा हिउँ चितुवामा विद्यावारिधि गरिरहेका एक विद्यार्थीले क्यामेरा ट्रयापिङमार्फत अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जनाए । मुस्ताङमा पटक–पटक क्यामेरा ट्रयापिङका काम भए पनि हालसम्म कति हिउँ चितुवा छन् भन्ने यकिन भएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्