नेभिगेशन
प्रदेश

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

पोखरा । गण्डकी प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याउने प्रदेश सरकारको लक्ष्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारका अनुसार हालसम्म ९९.८० प्रतिशत घरधुरीमा बिजुली पुगेको छ भने बाँकी केही घरधुरीमा विस्तारको काम भइरहेको छ ।

२०७४ मा गठन भएको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र सबै घरमा विद्युत् सेवा पुर्‍याउने निर्णय गरे पनि लक्ष्य पूरा हुन ढिलाइ भएको हो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका ऊर्जा शाखा प्रमुख इञ्जिनियर जीवन श्रेष्ठका अनुसार नवलपुरका करिब साढे तीन सय घरधुरीमा विद्युत् विस्तार हुन बाँकी छ । ठेक्कामार्फत काम भइरहेको र यसै आर्थिक वर्षभित्र सम्पन्न हुने उनले बताए । सरकारले पनि बर्सेनि नीति, कार्यक्रम र बजेटमा यो योजना समेट्दै आएको छ ।

सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरधुरीलाई स्वघोषणा गरेर आउनसमेत मन्त्रालयले सार्वजनिक रुपमा सूचित गरेको थियो । प्रदेशका २८ स्थानीय तहका १,३१७ घरधुरीमा अझै बिजुली नपुगेको तथ्यांक संकलन भइसकेको छ । ती घरधुरीमा विद्युत् सेवा पुर्‍याउन तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यस वर्ष विद्युत् विस्तारका लागि प्रदेश सरकारले १३ करोड रुपैयाँ बजेट छुट्याएको छ । राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा जडान गरिएको छ । चालु वर्षमै सतप्रतिशत विद्युतीकरण गरी ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्