नेभिगेशन
प्रदेश

हेटौंडाका घर भत्काउँदा श्रमिक घाइते

हेटौंडा । मंसिर २० गते पूर्वपश्चिम राजमार्ग अतिक्रमण हटाउने क्रममा हेटौंडा बजार क्षेत्रमा करिब पाँच सय घरटहरा भत्काइयो । आंशिकरूपमा भत्काइएका संरचनाका भग्नावशेष हटाउँदा एक सातामा पाँच जना श्रमिक घाइते भई अस्पतालमा उपचाररत छन् ।

मंसिर २० गते सडक डिभिजन कार्यालय, हेटौंडाले पूर्व–पश्चिम राजमार्ग अतिक्रमण हटाउन डोजर चलाएपछि आंशिकरूपमा भत्काइएका घर घरधनीहरूले पन्छाउने क्रममा दुर्घटना भएका हुन् । यस्तै, एक दुर्घटनामा परे रौतहटको माधवनारायण नगरपालिका–७ का १९ वर्षीय जितेन्द्र माझी । भत्काइरहेको घरको ढलान खस्दा उनी गम्भीर घाइते भएका हुन् । उनलाई तत्काल हेटौंडा–१ स्थित सञ्चो अस्पताल लगियो । हाल उनेको आईसीयूमा उपचार भइरहेको छ । उनको टाउको र देब्रे हातमा गम्भीर चोट लागेको छ । सोही घटनामा वीरगंज पोखरियाका लोरित यादवको ढाडको हड्डी भाँचिएको छ । उपचारको क्रममा चिकित्सकहरूले उनको शल्यक्रिया गरेका छन् ।

आइतबार हेटौंडा–१ पिपलबोट चोक नजिकको एक घर भत्काउने क्रममा मकवानपुरगढीका सन्तोष भ्लोन, उदयपुरका दिनेश चौधरी र अरुण चौधरी घाइते भए । ढलान एक्कासी खस्दा अरुणको शरीर ढलानले पुरियो । उनीहरू तीनै जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ । संरचना हटाउने क्रममा एक सातामै पाँच जना श्रमिक घाइते भइसकेका छन् । घाइते भएकाहरूको उपचारमा न ठेकेदारले खर्च व्यहोरेका छन् न त घरबेटीहरू नै सम्पर्कमा छन् । ‘कमाएर घर धान्ने मान्छे नै अस्पतालको बेडमा ढलेपछि हामीलाई चिन्तामाथि चिन्ता मात्र थपिएको छ,’ बिरामीका आफन्त पवन शाह भन्छन् ।

यता, घाइते लोरित र जितेन्द्रलाई काममा लगाउने ठेकेदार प्रकाश चौरसिया दिनहुँ अस्पतालमै घुमिरहेका छन् । हेटौंडाको बुद्धचोकमै रहेको एक घर भत्काउने ठेक्का लिएका उनी पनि चिन्तामा छन् । घटना भएको भोलिपल्टसम्म घरबेटीले उपचार खर्च बेहोर्ने बताए पनि हाल घरधनी मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएको उनको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्