नेभिगेशन
प्रदेश

१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।

विसं २०७९ मंसिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले बताए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय् याको नगर अस्पताल पुनःनिर्माण गरिएको अस्पताल भवनको आइतबार उद्घघाटन गरिएको छ । ४२ कोठा सहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए । नवनिर्मित अस्पताल भवनमा बहिरंग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष रहेका छन् ।

मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाई समेत स्वास्थ्य सेवा लिन पाएकपर्ने नगर प्रमुख अधिकारीले बताए । पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए ।

यसै महिनादेखि एमडिजिपीसहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरुपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्नेछ ।

मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिक रुपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख शाहले बताए ।

पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्