नेभिगेशन
प्रदेश

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी बनाइँदै

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी निर्माण सुरु गरिएको छ । सो ट्यांकी निर्माणका लागि आवश्यक पर्ने पानीको जोहो भने खच्चडलाई बोकाएर गरिएको छ ।

खाँचीकोटमा पानी पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिए । मोटरबाटो नपुगेको सो ठाउँमा खानेपानी ट्यांकी निर्माण गर्न दैनिक सात वटा खच्चडलाई पानी बोकाइएको छ । ती खच्चड डोल्पाबाट ल्याइएका हुन । जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठान हुँदै हिल स्टेशनमा खच्चड ल्याउन १५ दिन लागेको थियो ।

एउटा खच्चडले एक पटकमा ७० लिटर पानी बोक्ने गर्दछ । एउटा खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला तिर्नुपरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताए ।

यसरी पानी बोकाउँदा एक लिटर पानीको करिब १० रुपैयाँ पर्ने अनुमान गरिएको छ । खाँचीकोट क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थान हो । हिल स्टेशनसम्म पुग्न सहज हुँदा यो स्थान नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्