नेभिगेशन
प्रदेश

बालिका हत्याराको अझै भएन पहिचान

सिरहा । कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि दोषीको पहिचान हुन सकेको छैन । मंसिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘छोरी गुमाएको पीडा त छँदै छ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ताको आवाज कसैले सुन्दैन ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताउँदै भने, ‘घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौं ।’ दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्