नेभिगेशन
प्रदेश

ज्याला नै नउठे किन बुन्नु गलैँचा ?

सुरुमा महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडाले तालिम दियो, तान पनि दियो। तर मेहनतअनुसार आम्दानी नभएपछि महिलाहरूले वडा कार्यालयलाई तान फिर्ता गर्न थालेका छन् ।

धादिङ । नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न थालेकी थिइन् । घरमै गलैँचाको तान हालेर गलैँचा बुन्दै आएकी उनले सो काम छाडेकी छिन् । सोचेजस्तो आम्दानी नभएपछि उनले काम छाडेकी हुन् । उनले भनिन्, ‘राम्रै आम्दानी हुन्छ कि भनेर तालिम लिएरै गलैँचा बुन्न थालियो । एउटा गलैँचा बुन्न तीन साता लाग्छ तर बुनेको ज्याला पाँचदेखि सात हजार मात्र पाइन्छ ।’

सुरुमा ढिलो भए पनि गर्दै जाँदा जति बुन्दा पनि मेहनत अनुसार आम्दानी नभएपछि काम छाडेको उनी बताउँछिन् । उनले मात्रै होइन ज्यामिरेका धेरै महिलाले गलैँचा बुन्न छाडेका छन् ।

सुरुमा महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडाले तालिम दियो, तान पनि दियो । तर मेहनतअनुसार आम्दानी नभएपछि महिलाहरूले वडा कार्यालयलाई तान फिर्ता गर्न थालेका छन् । एक वर्षअघि वडा कार्यालयले दिएको तालिममा २० जनाले गलैँचा बुन्न सिकेका थिए । १८ जनाले तान घरमै लगेर बुन्न थालेका थिए । तर हाल सो संख्या घटेर पाँचजनामा झरेका छन् ।

आफूहरूले तयार पारेको एउटै गलैँचा २० देखि २५ हजार रुपैयाँमा बिक्री हुन्छ भन्ने उनीहरूरुले सुनेका छन् । तर ज्याला निकै कम भएपछि महिलाहरू गलैँचा बुन्ने काम छोड्दैछन् । गलैँचाका कच्चापदार्थ कहाँबाट आउँछ, बुनेका गलैँचा कहाँ बिक्री हुन्छ भन्नेबारे उनीहरू बेखर छन् । गलैँचा उत्पादक कम्पनीका प्रतिनिधि गाउँमै जान्छन् । धागो, कैँची, तान र गलैँचाको डिजाइन पनि घरमै पुर्‍याइदिन्छन् । ज्याला पनि उनैले तोक्छन् । आफूहरूको लगानी नपरे पनि हाम्रो दैनिक ज्याला नउठ्दा यो काममा अरुचि पैदा भएको हो ।

प्रशिक्षकका रूपमा काम गर्दै आएका लालबहादुर श्रेष्ठले घरमा बसेर गर्न मिल्ने भएकाले ज्याला थोरै हुने गरेको बताउँछन् । कम्पनीले कति रुपैयाँ दिन्छ भन्नेबारे आफूलाई पनि थाहै नहुने उनले बताए । मोटो वा मसिनो धागो र चित्रअनुसार ज्याला फरक हुन्छ । मोटो धागोको बुन्ने काम छिटो हुन्छ, पैसा कम हुन्छ । मसिनो धागोको बुन्न गाह्रो र काम ढिलो हुन्छ तर ज्याला धेरै हुन्छ । गलैँचा बुन्न सिकाउँदै आएका लालबहादुरका अनुसार मोटो धागोले बुन्न १८ देखि २० दिन लाग्छ भने मसिनो धागोले बुन्दा एकजनालाई ४० देखि ४५ दिनमा गलैँचा तयार हुन्छ । मोटो धागोबाट तयार पारेको बुट्टाअनुसार पाँचदेखि सात हजार र मसिनो धागोबाट तयार पारेको १७ देखि १८ हजार ज्याला दिन्छ ।

गलैँचा कम्पनीका प्रतिनिधि बुद्धसिंह तामाङकाअनुसार कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ र गलैँचा तयार गरिसकेपछि पनि विदेशमै निर्यात गरिन्छ । महिलाले बुनेका ९० सेन्टिमिटर चौडाइ र १९० सेन्टिमिटर लम्बाइको गलैँचाको बजार मूल्य बुट्टाअनुसार १५ देखि २५ हजार पर्छ । ढुवानी, प्रशोधन गरी बिक्रीका लागि तयार गर्दा खर्च धेरै हुने भएकोले श्रमिकलाई पाँचदेखि सात हजारभन्दा बढी ज्याला दिन नसकिने उनी बताउँछन् ।

कमजोर अध्ययनको भरमा कार्यक्रम गर्दा यस्ता अवस्था आउने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले बताए । स्थानीय तहले हचुवाको भरमा बजेट हाल्ने र पहुँचको आधारमा बजेट लगानी गर्दा पनि समस्या भएको पुरीको भनाइ छ ।

नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्थानीय महिलाको मागअनुसार तालिम सञ्चालन गरेको बताए । धादिङको नीलकण्ठ, नेत्रावती, गङ्गाजमुना, सल्यानटार, महादेवबेसी लगायतका स्थानमा गलैँचा बुन्ने काम हुन्छ । जिल्लाभर चार सयको हाराहारीले गलैँचा बुन्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्