नेभिगेशन
प्रदेश

चिराइतो नबिक्दा किसान चिन्तित

ताप्लेजुङ । चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ ।

मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष ४० हजारमा रुपैयाँमा २० मन चिराइतो बिक्री गरे । व्यापारी घरमै आएर चिराइतो खरिद गरेका थिए । तर यस वर्ष भने चिराइतो संकलन गरे पनि अहिलेसम्म खरिदका लागि व्यापारीहरू सम्पर्कमा नआएको शेर्पाले बताए । उनले भने, ‘चिराइतो संकलन गरेर राखिएको छ । खै कति छ दाम थाहा छैन । बिक्री हुने कि नहुने थाहा छैन ।’

फक्ताङलु गाउँपालिका–६ आहाले गाउँका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतोखेती गर्दै आएका छन् । उनी बीचमा वैदेशिक रोजगारीमा समेत गए । आफ्नै गाउँघरका पाखोबारीमा प्रशस्त मात्रमा खेती गर्न सकिने चिराइतो राम्रो सम्भावना देखेपछि गाउँ फर्केपछि चिराइतोखेती फेरि गर्न थाले । चिराइतोखेतीसँगै चिराइतो खरिदबिक्रीसमेत गर्न थाले । ताम्मादेनले गत वर्ष मात्र १ सय २५ मन चिराइतो खरिद गरेर चीनको तिब्बत निर्यात गरे । उनले तिब्बतमा ४० देखि ६५ रुपैयाँ हजारमा चिराइतो बिक्री गरेको बताए । तर यस वर्ष भने चिराइतोको कारोबार शून्यजस्तै रहेको ताम्मादेनले बताए । उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष चिराइतो उत्पादनसमेत कम छ । गत वर्ष एउटा गाउँबाट २०० केजी संकलन हुनेमा अहिले १०० केजी पनि चिराइतो संकलन भएको छैन ।’ गाउँघरमा प्रतिमन (४० केजी) को १७ देखि १८ हजार रुपैयाँमा खरिद बिक्री हुँदै आएको चिराइतो व्यापारी राम ताम्मादेनले बताए ।

भारतीयमा भन्दा चीनमा राम्रो मूल्य आउने भएकाले धेरै चिराइतो तिब्बत हुँदै चीन निर्यात हुँदै आएको छ ।

विगतमा गाउँकै धेरै चिराइतो उत्पादन गर्ने फक्ताङलुङ गाउँपालिका–६ किसोङवा गाउँका केरसिं लिम्बू अहिले चिराइतोखेती गर्दैनन् । लिम्बूले विगतमा ७५ मनसम्म चिराइतो उत्पादन गर्थे । चिराइतोको बजार मूल्य निश्चित नहुने प्रत्येक वर्ष बजार मूल्य उतारचढाव भइरने भएकाले किसानले चिराइतोखेती गर्न छाड्दै गएका उनले बताए । विगतमा राम्रो चिराइतो संकलन हुने किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले न्यून मात्रामा मात्र चिराइतो उत्पादन हुँदै आएको लिम्बूले जनाए । नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिराइतो ताप्लेजुङको तिप्ताला नाका हुँदै चीनको तिब्बत निर्यात हुँदै आएको छ । चिराइतो व्यापारीले विगत छ वर्ष अगाडि संखुवासभा, भोजपुर, तेह्रथुम, इलामका चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म दुवानी गरेका थिए । कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द हुँदा चिराइतो किसानलाई प्रत्यक्ष असर परेको थियो । नाका बन्द हुँदा चिराइतो चीन निर्यात हुन सकेन । चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती छाडेका थिए । गत वर्षदेखि भने तिप्ताला नाका खुलेसँगै चिराइतो चीन निर्यात हुन थालेको छ ।

विगत तीन वर्ष आगाडि फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले प्रतिकेजी ११ सय २५ रुपैयाँका दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का चिराइतो खरिद बिक्री गर्दै आएका व्यापारी टासी शेर्पाले प्रतिमन ४५ हजारमा रुपैयाँमा ५० मन चिराइतो संकलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरेका थिए । गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ । गत आव ताप्लेजुङबाट ५ हजार ८२० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । आव २०७९/८० मा ५ हजार ८०० केजी ताप्लेजुङमा चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालयको तथ्यांकमा उपलब्ध छ ।

वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार ३०० केजी चिराइतो संकलन भएकामा यसबाट दुई लाख ४४ हजार ५०० रुपैयाँ राजस्व जम्मा भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादन क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो संकलन गरेर जिल्ला बाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको व्यापारी बताए । झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एकपटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन ।

पाकेको फूल आफैं झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानको भनाइ छ । नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्यान्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीटजरल्यान्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धतिजस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिका रूपमा चिराइतोको प्रयोग हुने गर्छ ।

मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छालारोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ ।

वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्