महोत्तरी । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि महोत्तरीका स्थानीयतहले विद्यालय बिदा दिएका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिएका हुन् ।
पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले सोमबार देखि नै जाडो बिदा दिएका छन् । सूचना जारी गर्ने स्थानीयतहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ ।
‘भोलि मंगलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, सोमबार र मंगलबारसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौं,’ शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भने, ‘त्यसपछि मौसमअनुसार फेरि निर्णय गरिने छ ।’ अधिकांशले भने तीन र पाँच दिन बिदा दिने जनाएका छन् ।
‘अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिने भनेका छौं, बीचको मौसमअनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन्,’ मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले भने । यसअघि जिल्लाका भंगाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर सुरु भएलगत्तै गत मंगलबार नै बिदाको सूचना जारी गरेका थिए । बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भंगाहाका नगरप्रमुख सञ्जीवकुमार साहको भनाइ छ । ‘जाडो बढेको छ, स–साना नानी त विद्यालय आउनै पनि छाडिसकेका छन्, यो अवस्थामा बिदा दिने निर्णय गरियो,’ उनले भने । स्थानीय तहहरूले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन् । स्थानीयतहले बिदा सूचना अघिपछि जारी गरे पनि जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मंगलबारदेखि नै बालबालिका जान छाडेका थिए ।
जिल्लाका करिब सबै भेगमा पछिल्लो एक सातायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।