नेभिगेशन
प्रदेश

सवारी दुर्घटना न्यून गर्न ‘ब्ल्याक स्पोट’ बोर्ड

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्यांकलाई विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बंकजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ ।

ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन् ।यी स्थानमा राखिएका ‘सावधान दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएका बोर्डले तीव्रगतिमा रहेका चालकलाई झस्काउने र गति नियन्त्रण गर्न प्रेरित गर्ने हुँदा यसो गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए । ‘सवारी दुर्घटना प्राविधिक कारणले मात्र नभई चालकको असावधानी र सडकको अवस्थाबारे जानकारी नहुँदा पनि हुने गर्दछ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख नाथले भने, ‘भौतिक पूर्वाधारको सुधारसँगै चालक र यात्रुको मनोविज्ञान बदल्नु उत्तिकै जरुरी छ, यी बोर्डले चालकलाई मानसिक रूपमा सचेत गराई सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न ढालको काम गर्नेछन् ।’ दुर्घटना न्यूनीकरण केवल प्रहरीको प्रयासले मात्र सम्भव नहुने भएकाले ट्राफिक प्रहरीले यसको दायरा फराकिलो बनाएको उनले उल्लेख गरे । सार्वजनिक यातायात र स्कुल बसका चालकलाई सडक अनुशासनबारे नियमित प्रशिक्षण, विद्यालयस्तरमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिने काम भइरहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) ओम रानाका अनुसार यो अभियान प्रदेशभरि नै एउटा सुरक्षा संस्कृतिका रूपमा विकास गर्न लागिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्