खोटाङ । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नं ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो ।
सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीयवासी स्वस्फुर्त जनश्रमदानमा जुटेका छन् । स्थानीय नागरिकले गाउँपालिकाले गरेको जनश्रमदानसम्बन्धी नीतिगत निर्णयलाई व्यवहारमा उतार्दै नियमित रूपमा श्रमदानमार्फत विकास निर्माणका कार्य अघि बढाइरहेका छन् । विशेषगरी वडा नं ३ खिदिमाका नागरिकले ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने मूल उद्देश्यसहित निरन्तर श्रमदान अभियान सञ्चालन गर्दै आएका छन् । जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।
खिदिमाको साविकका पुङ्मा, किवा, ढाँडे, बोपुङ, सौरे, लामिडाँडा, हाक्तीसुँडे, कोत्रा लगायतका विभिन्न टोलमा जनश्रमदानमार्फत सडक, सार्वजनिक स्थल तथा पाटीपौवा सरसफाइ सम्पन्न भइसकेको छ । अभियान सञ्चालन गर्न बाँकी टोलमा पनि निरन्तर श्रमदान अभियान सञ्चालन गरिने वडा नं ३ का अध्यक्ष गोविन्द तामाङले जनाए । यस्तै वडा नं १ बाँझेच्यानडाँडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाइ गरिनाका साथै सडकको नाली सरसफाइ गरिएको पुष्पा राईले जनाए । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) यो गाउँपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयवासी सहभागी थिए । श्रमदानमा सहभागीले खाना तथा खाजाको व्यवस्थासमेत आफै गर्ने गरेको वडाध्यक्ष तामाङले जनाए ।
श्रमदान अभियानकै क्रममा खिदिमास्थित बोरा टोल र मखमले टोलका स्थानीयले जनश्रमदानमार्फत काठको साँघु निर्माण गरी आवत–जावतलाई सहज बनाएका छन् । आवागमनमा समस्या भएको स्थानीय बोरा खोलामा करिब १५ मिटर लामो काठेसाँघु निर्माण गरिएको हो । वर्षामा आउने भलबाढीले पैदल हिँड्न गाह्रो भएको अवस्थामा स्थानीय आफै अग्रसर भएर काठेसाँघु बनाएका हुन् । सीमित स्रोतसाधनका बाबजुद पनि साझा समस्या समाधानका लागि स्थानीयवासी एकताबद्ध भएर श्रमदानमा जुट्नुले ‘आफ्नो गाउँ आफैँ बनाऔ’ भन्ने भावनालाई व्यवहारमा क्रियान्वयन भएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । गाउँपालिकाले सुरु गरेको ‘श्रम साकेला अभियान’को नीतिगत निर्णयले गाउँपालिकामा सामुदायिक विकासले गति लिएको छ ।