नेभिगेशन
प्रदेश

शीतलहरले छेक्यो बाटो

नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्र अघिपछि पनि सहज होइन । पानी पर्दा हिलाम्य र सुक्खायाममा धुलाम्य हुने उक्त खण्डमा बुधबार शीतलहर र बाक्लो हुस्सुले सवारी आवागमन अवरुद्ध पारेको छ । पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला आसपासको सडक अत्यन्तै चिप्लो र हिलाम्य भएपछि गाडी चिप्लिने र उकालो चढ्न नसक्ने अवस्था आएको हो। शीतलहरका कारण सडक सतह ओसिलो र चिप्लो बनेको छ भने बाक्लो कुहिरोले दृश्यता निकै कम भएको छ । दाउन्ने उकालो क्षेत्रमा मालवाहक तथा ठूला सवारीसाधन अड्किँदा लामो समयदेखि राजमार्गमा सवारी जाम लागिरहेको छ । पूर्वी खण्डतर्फ दाउन्नेदेखि दुम्कीबास जंगलसम्म करिब १५ सय सवारीसाधन जाममा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार जाम विस्तारै हटाउने प्रयास भइरहेको भए पनि शीतलहर र हुस्सुका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भइरहेको छ । ‘मौसम धुम्म छ । सडक चिप्लो छ, त्यसैले जोखिमपूर्ण अवस्था छ,’ उनले बताए ।

नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार दाउन्ने खण्डमा सडक विस्तार तथा मर्मतको काम भइरहेकाले शीतलहरले बाटो थप बिग्रिएको छ । ‘खुर्सानी खोला क्षेत्रमा ग्राभेल गर्ने काम भइरहेको छ, तर हिलो र चिप्लोपनका कारण सवारी उकालो चढ्न नसक्ने समस्या देखिएको छ,’ उनले भने। मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकिएको पनि उनले जानकारी दिए । दाउन्ने क्षेत्र हाल निर्माणाधीन अवस्थामा रहेकाले पहाडको भिरालो भू–भाग, साँघुरो मोड र हिलाम्य सडकले यात्रु तथा चालकलाई थप सास्ती दिएको छ । स्थानीय प्रशासन र आयोजनाको टोली सडक सुधार र सवारी व्यवस्थापनमा खटिएको भए पनि मौसम प्रतिकूल हुँदा समस्या जटिल बनेको छ ।

यसैबीच आयोजनाले सूचना जारी गर्दै अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सवारीले नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन्। यस्तै कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा मार्ग पनि वैकल्पिकका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । काठमाडौंबाट बर्दघाट पश्चिम जाने तथा बुटवल–काठमाडौं आवतजावत गर्ने सवारीसाधनले काठमाडौं–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न सक्नेछन्।

आयोजनाले सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न, धैर्य अपनाउन र मौसमको अवस्था हेरेर यात्रा गर्न आग्रह गरेको छ । शीतलहर कायम रहेसम्म दाउन्ने क्षेत्रमा थप समस्या आउन सक्ने भएकाले यात्रुहरूलाई सतर्क रहन अनुरोध गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्