नेभिगेशन
प्रदेश

धौलागिरि अस्पतालले नर्सिङ पढाउने

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ ।

गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा चालू आर्थिक वर्षबाट नर्सिङ पढाइ गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरको े थियो । चालू आवमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्नका लागि ७० लाख रुपैयाँको बजेट विनियोजन भएको गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस वर्षको भर्ना प्रक्रिया सकिएकाले पूर्वाधार तयारमा केन्द्रित हुने र आगामी वर्ष विद्यार्थी भर्ना गर्ने तयारीका लागि बजेट पठाइएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जनाए । कक्षाकोठा र प्रयोगशालालगायतको व्यवस्थापन भने यही आर्थिक वर्षमै सक्ने योजना रहेको उनले बताए ।

प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाइफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रवीणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने धौलागिरि अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले जनाए । ‘यो एसइईपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्ष हो, यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ,’ उनले भने, ‘चालू आर्थिक वर्षमै भर्ना अघि बढाउने भनिए पनि जेनजी आन्दोलनलगायतका कारण समस्या भएको थियो ।’ नर्सिङ विषय अध्यापनका लागि १०० शैय्याको अस्पताल र वार्षिक एक हजार २०० सुत्केरी अस्पतालमा हुनुपर्ने मापदण्ड पुगेकाले नर्सिङको पढाइको तयारी थालिएको हो । बागलुङका तीन अस्पतालको स्तरोन्नति एकसाथ भइसकेको पनि जनाइएको छ । धौलागिरि अस्पताल १०० शैय्याको नहुँदा नर्सिङ पढाउन समस्या भएकाले स्तरोन्नतिपछि नर्सिङ पढाइको बाटो गत वर्षदेखि खुलेको थियो ।

पचास शैय्यााको धौलागिरि प्रादेशिक अस्पताललाई प्रदेश मातहतको १०० शैय्या, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको बुर्तिबाङ प्रदेश अस्पताल, धौलागिरी आयुर्वेद अस्पताल बागलुङलाई २५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्