नेभिगेशन
प्रदेश

दाउन्ने सडकमा समस्या, वैकल्पिक मार्ग जान सुझाव

काठमाडौं । शीतलहरका कारण निर्माणाधीन नारायणघाट– बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिकरूपमा भएको शीतलहरका कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकाले सवारीसाधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनले स्पष्ट पारेको छ । पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारीसाधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरू काठमाडौं–मुग्लिङ– पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्