नेभिगेशन
प्रदेश

गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु

गोरखा । नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं शृंखला आजदेखि सुरु भएको छ । यही पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो ।

पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतद्वारा शुभारम्भ भएको थियो ।

नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणका अधिकृत कमाण्डरसहितको टोलीलाई टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झण्डा प्रदान गरी पदयात्राको शुभारम्भ गरिएको सो गणका गणपति विरोध रिजालले जनाए । गोरखा दरबार परिसरमा एक कार्यक्रममा टर्च र झण्डा हस्तान्तरण गरेर पदयात्राका सहभागीलाई बिदाइ गरिएको थियो । पदयात्रामा निस्किएको टोली सोमबार पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेंसी पुगेर धादिङको नेपाली सेनाको पदयात्री टोलीलाई टर्च र झण्डा बुझाउनेछ । धादिङको गणले नुवकोटको गणलाई र नुवाकोटले काठमाडौँको गणलाई यात्रा हस्तान्तरण गर्नेछ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते हनुमानढोका दरबारमा आयोजना हुने कार्यक्रमका लागि सो टोली पुस २६ साँझसम्म हनुमानढोकास्थित गुल्मलाई टर्च र झण्डा हस्तान्तरण कार्यक्रम छ । ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

एकीकरण मार्गमा रहेको ऐतिहासिक स्मारक, कोट र गढी संरक्षण, प्रचारप्रसार तथा विकास गर्ने उद्देश्यले २०७६ सालदेखि नेपाली सेनाले सो पदयात्रा सुरु गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश