नेभिगेशन
प्रदेश

बस दुर्घटनामा चार जनाको मृत्यु, २२ घाइते

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौं पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जनाए । उनले घाइतेको उपचार भइरहेको बताए ।

बुधबार साँझ शंकरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेहरूको शंकरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल, टिचिङ अस्पतालमा उपचार भइरहेको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर फर्कंदै गर्दा दुर्घटनामा परेको हो । उक्त बसमा ४० जना सवार रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश